गान्तोक, 30 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नाम्ची जिल्ला युवा कल्याण परिषदले आज नाम्ची जिल्ला प्रशासनिक कार्यालय परिसरमा 'पेन्शन नट पोजिशन' अभियान अन्तर्गत सडक तथा पुल विभाग र शिक्षा विभागमा कार्यरत सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष भेटवार्ता गऱ्यो। परिषद्का अध्यक्ष विजय राईको अगुवाईमा टोलीले सडक तथा पुल विभागमा कार्यरत लेखा अधिकारीसँग भेट गरेर सेवानिवृत्त कर्मचारीहरूलाई पदबाट स्वेच्छिक रूपमा पछि हट्न आग्रह गऱ्यो। सम्बन्धित अधिकारीले उक्त आग्रहलाई सकारात्मक रूपमा ग्रहण गरेको जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
शिक्षा विभाग अन्तर्गत कार्यरत निर्देशकलाई भेट गर्न टोली कार्यालय पुगेको भए तापनि अधिकारी अनुपस्थित रहेकाले सो विभागसमक्ष सम्बन्धित ज्ञापनपत्र बुझाएको बताइएको छ। अर्कोतिर, सीएपी सिक्किमले आरटीआई अन्तर्गत डीओपी कार्यालयसमक्ष माग गरिएको विवरणअनुसार विभागले 86 जना सेवानिवृत्त कर्मचारीहरूको नाम सार्वजनिक गरेको, तर उक्त विवरणमा स्पष्टता नभएको जनाएको छ।
सीएपीले स्पष्ट गरेको छ, पेन्शन नट पोजिशन अभियान कुनै व्यक्तिविशेष विरुद्ध नभएर समग्र राज्य सेवा प्रणालीको शुद्धीकरण र भविष्यमा योग्य जनशक्तिलाई अवसर सुनिश्चित गर्न गरिएको पहल हो। सेवा निवृत्त कर्मचारीहरू महत्वपूर्ण सल्लाहकार हुन सक्छन्, तर पदमा निरन्तर टाँसिनुले नयाँ पुस्ताको विकासमा अवरोध सिर्जना गरिरहेको यथार्थलाई अब उपेक्षा गर्न सकिँदैन।
सीएपी सिक्किमले यो अभियानलाई अन्य विभागहरूसम्म विस्तार गर्दै लैजाने अठोट लिएको छ। राज्य सेवामा निष्पक्षता, जवाफदेहिता र न्यायपूर्ण अवसर सुनिश्चित गर्नु साझा दायित्व रहेको बताउॅंदै सम्पूर्ण जनसमुदायसँग यस अभियानलाई समर्थन गर्न अपील गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल