गान्तोक, 30 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) गेजिङ जिल्ला टोलीले आज मानेबुङ देन्ताम र गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरण गर्यो। उक्त जानकारी भाजपा गेजिङ जिल्लाले आज एक प्रेस विज्ञप्तिमा दिएको छ।
गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत सोम, कर्मटार, उत्तरे र ही-पाताललाई समेट्दै मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा तीन ठाउॅं वृहत आयुष्मान भारत र ई-श्रम कार्ड वितरण अभियान सफलतापूर्वक आयोजना गरियो। मोदी सरकारको 11 वर्षको उपलक्ष्यमा भाजपा कार्यकर्ताहरूले हालै सम्पन्न गरेको घर-घर सेवा र सम्पर्क अभियानको क्रममा यी कार्डहरू दर्ता गरिएको बताइएको छ।
यस महत्त्वपूर्ण पहलको उद्देश्य आयुष्मान भारत र ई-श्रम जस्ता प्रमुख केन्द्र सरकारको कल्याणकारी योजनाहरूको लाभ प्रत्येक योग्य नागरिकसम्म पुऱ्याउनु रहेको बताइएको छ। कार्यक्रम पूर्व मन्त्री तथा भाजपा राष्ट्रिय परिषद् सदस्य नरेन्द्र कुमार सुब्बा, भाजपा सिक्किमका उपाध्यक्ष डीसी नेपाल, मिडिया इन्चार्ज निरेन भण्डारी, प्रवक्ता पासाङ ग्याली शेर्पा, जिल्ला अध्यक्ष दिगम लिम्बू, मण्डल अध्यक्ष एमडी शेर्पा आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा नेतृत्वहरूले तृणमूल स्तरमा समावेशी विकास र कल्याणकारी वितरणप्रति पार्टीको अटल प्रतिबद्धता दोहोर्याए। उनीहरूले सक्रिय सहभागिताका लागि जनताप्रति कृतज्ञता व्यक्त गरे र कार्यक्रमको सफलतामा योगदान पुर्याउने सबै कार्यकर्ताहरूको इमान्दार प्रयासको सराहना गरे।
हिन्दुस्थान समाचार / बिशाल