गान्तोक, 30 जून (हि.स.)। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) को एक प्रतिनिधि टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा शिष्टाचार भेट गऱ्यो। एनएचआईडीसीएल टोलीको अगुवाई प्रबन्ध निदेशक डा. कृष्ण कुमारले गरेका थिए।
एनएचआईडीसीएल प्रतिनिधि टोलीसॅंग सडक सम्पर्क सुधार र यस क्षेत्रका यात्रीहरूका लागि बढी सुविधा सुनिश्चित गर्ने कुरामाथि चर्चा भएको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्। उनले कठिन भू-भाग र मौसमको अवस्थाका कारण सेवक-गान्तोक राजमार्गमा चलिरहेका समस्याहरूमाथि चर्चा भएको बताएका छन्। मुख्यमन्त्रीले वर्षभरि यात्रा सहज बनाउन मानक डबल-लेन राजमार्ग निर्माण मार्फत दीर्घकालीन, भरपर्दो समाधानको आवश्यकतामा जोड दिएको अवगत गराएका छन्।
एनएचआईडीसीएलले अगावै परामर्शक संलग्न गरिसकेको र यस्तै स्तरोन्नतिका योजनाहरूलाई अगाडि बढाउने पहल शुरू गरिसकेकोमा उनले खुशी व्यक्त गरेका छन्। मुख्यमन्त्रीले मल्ली-सिङताम मार्गलाई एनएच-210 घोषणा गरेकोमा सडक यातायात तथा राजमार्ग मन्त्रालयप्रति कृतज्ञता व्यक्त गरे। यो 23 किलोमिटर वैकल्पिक राजमार्गले कनेक्टिभिटीमा उल्लेखनीय सुधार गरेको र यस क्षेत्रमा नयाँ आर्थिक अवसरहरू ल्याएको उनले बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल