चुङथाङ-लाचेन अक्षमा सञ्चार र सम्पर्क स्थापना गर्न व्यापक सम्भाव्यता सर्वेक्षण
चुङथाङ-लाचेन अक्षमा सञ्चार र सम्पर्क स्थापना गर्न व्यापक सम्भाव्यता सर्वेक्षण


- तारुम चुको अवस्था चिन्ताजनक, सम्पूर्ण सडक पूर्वाधार ध्वस्त

मंगन, 05 जून (हि.स.)। चुङथाङका राजस्व अधिकारी र चुङथाङका एसएचओको संयुक्त नेतृत्वमा एक टोलीले हालैका प्राकृतिक प्रकोपहरूले गम्भीर रूपमा प्रभावित बनेको चुङथाङ-लाचेन अक्षमा सञ्चार र सम्पर्क स्थापना गर्ने उद्देश्यले उपायहरूको अन्वेषण गर्न आज एक व्यापक सम्भाव्यता सर्वेक्षण गऱ्यो।

टोलीमा राजस्व निरीक्षक, अग्नि तथा आपतकालीन सेवा, एसडीआरएफ, एनडीआरएफका सदस्यहरू सहित विभिन्न प्रमुख विभाग र एजेन्सीहरूका प्रतिनिधिहरू, लाचेन जुम्साका पिपन र प्रतिनिधिहरू र स्थानीय मानिसहरू समावेश थिए। यसअघि, चुङथाङका एनडीआरएफ, एसडीआरएफ, वन विभाग र अन्यहरूको संयुक्त पहलमा अस्थायी पुलहरू स्थापना गरेर राबुमसम्म अस्थायी सम्पर्क स्थापित गर्न सक्षम बनेका थिए।

यी प्रयासहरूले दुर्गम क्षेत्रहरूमा आंशिक पहुँच सुनिश्चित गरेको थियो। यद्यपि, हालको सर्वेक्षणको क्रममा राबुममा अस्थायी उपायहरूलाई सुदृढीकरण गर्न आवश्यक रहेको महसुस गरिएको छ। कनेक्टिभिटी र रसद आवागमनलाई दिगो बनाउन अझ टिकाउ काठको पुल निर्माणको तत्काल आवश्यकता रहेको टोलीले आकलन गरेको छ।

टोलीले आफ्नो सर्वेक्षण तारुम चुतर्फ उत्तरतिर विस्तार गर्‍यो, जहाँ अवस्था धेरै चिन्ताजनक रहेको छ। तारुम चु क्षेत्रको सम्पूर्ण सडक पूर्वाधार ध्वस्त बनेको छ भने सडकका ठूला भागहरू पूर्ण रूपमा बगाएको छ। यस क्षेत्रमा निरन्तर माटोको क्षय भइरहेको र अस्थिर ढलानहरूले काठको पुल जस्ता अस्थायी सम्पर्क संरचनाहरूको स्थापनाको लागि पनि गम्भीर चुनौतीहरू खडा गरेको टोलीले बताएको छ।

तारुम चु अक्षमा भएको विनाशको मात्रा गम्भीर रहेको बताउॅंदै टोलीले आवश्यक राहत र पुनर्वास स्रोतहरूको पहुँच र परिचालन दुवैमा बाधा उत्पन्न भइरहेको बताएको छ। टोलीले यो क्षेत्रमा अस्थायी संरचनाहरूको स्थापनामा पनि समय लाग्ने र उच्च जोखिमपूर्ण कार्य हुने बताएको छ। यसका लागि रणनीतिक योजना, प्राविधिक विशेषज्ञता र थप स्रोतहरू आवश्यक पर्ने टोलीले बताएको छ।

जिल्ला प्रशासनले सबै सम्बन्धित विभागहरूसँगको समन्वयमा स्थानीय मानिसहरू र पुनर्स्थापना कार्यमा संलग्न क्षेत्रीय कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल ध्यान दिँदै लक्षित पुनर्स्थापना योजना निर्माणलाई प्राथमिकता दिइरहेको बताइएको छ। प्रशासनले यस चुनौतीपूर्ण समयमा जनतालाई धैर्य र सहयोगी रहन अपील गर्दै छिटोभन्दा छिटो सामान्य अवस्था पुनर्स्थापित गर्न हरेक सम्भव प्रयास भइरहेको आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande