गान्तोक, 03 जुलाई (हि.स.)। राज्य आबकारी विभागका नवनियुक्त सचिव जीवन सुब्बाको अध्यक्षतामा आज मुख्यालयमा पहिलो समन्वय बैठक आयोजन गरियो। बैठकमा राज्यको छवटै जिल्लाका अधिकारीहरू र क्षेत्रीय अधिकारीहरू उपस्थित थिए।
बैठकमा सचिव सुब्बाले मुख्यमन्त्री पीएस तामाङ, जो विभागका सम्बन्धित मन्त्री पनि हुन्, ले विभागलाई सुव्यवस्थित गर्न र विभागको सुचारु कामकाजको निरीक्षण गर्न कडा निर्देशन दिएको जानकारी गराए। बैठकमा विशेषगरि दुईवटा मुद्दा राजस्व संकलन र सेवा वितरण संयन्त्रमा सुधारमाथि छलफल भएको विज्ञप्तिमा उल्लेख छ।
सचिव सुब्बाले वर्तमान वित्तीय वर्षमा विभागको राजस्व कम्तिमा 10 प्रतिशत वृद्धि गर्नुपर्ने लक्ष्य सरकारले दिएको जानकारी गराए। उनले जरिवाना र जफतबाट हुने राजस्व सङ्कलन लक्ष्यअनुसार नभएकोमा निराशा व्यक्त गर्दै क्षेत्रीय अधिकारी तथा कर्मचारीहरूलाई यस सम्बन्धमा उचित ध्यान दिन आह्वान गरे।
सचिव सुब्बाले क्षेत्रीय अधिकारीहरू र कर्मचारीहरूलाई विभागको हितलाई प्राथमिकतामा राख्दै थप जोश र उत्साहका साथ काम गर्न पनि आग्रह गरे। उनले महिनामा कम्तिमा 15 दिन क्षेत्रको भ्रमण गर्न निर्देश दिॅंदै भ्रमण अवधि अधिकारीहरूले युनिफर्म लगाउएको हुनुपर्नेछ भनी बताए। उनले आबकारी कानून जान्नुको महत्त्व उल्लेख गर्दै विभागका अधिकारी र कर्मचारीहरूलाई यसको बारेमा उचित ज्ञान राख्न आग्रह गरे।
उनले सहज वितरण सेवा संयन्त्रको महत्त्वको बारेमा बोल्दै विभागबाट लाइसेन्स प्राप्त गर्दा वा नवीकरण गर्दा जनताले कुनै पनि वाधाको सामना गर्नु हुँदैन भन्दै ढिलाइलाई कुनै पनि हालतमा त्याग्नुपर्ने निर्देश दिए। बैठकमा अन्तरक्रिया सत्र पनि सम्पन्न गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल