- सेवा श्री सम्मान र भाषा गौरव सम्मान प्रापकहरूको नाम घोषणा
गान्तोक, 03 जुलाई (हि.स.)। वरिष्ठ साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार प्रदान गरिने भएको छ। आगामी 13 जुलाई, 2025 मा पालन गरिने 211औं भानु जयन्तीमा साहित्यकार ढकाललाई भानु पुरस्कारले अभिनन्दित गरिने छ। उक्त घोषणा नेपाली साहित्य परिषद, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलले आज पत्रकार सम्मेलनमा गरे।
विकास क्षेत्रस्थित परिषद भवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढुङ्गेलले भानु पुरस्कारलगायत सेवा श्री सम्मान र भाषा गौरव सम्मान प्रापकहरूको पनि नाम घोषणा गरे। उनले राजधानीको मनन केन्द्रमा आगामी 13 जुलाईका दिन पालन गरिने 211औं भानु जयन्तीमा साहित्य अकादमी पुरस्कारले पुरस्कृत साहित्यकार एसडी ढकाललाई 'भानु पुरस्कार' प्रदान गरिने बताए।
कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। पुरस्कार स्वरूप अंगवस्त्र, ताम्रपत्र, प्रशस्ति पत्र र नगद 51 हजार रूपियॉं अर्पण गरिने छ। यसैगरी, अध्यक्ष ढुङ्गेलले आ-आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान दिने विशिष्ट व्यक्तित्वहरूको नाम सेवा श्री सम्मानको निम्ति घोषणा गरे।
परिषदले यसपाली भाषा सेवा श्री सम्मानले अबि नारायण मिश्र र चन्द्र राईलाई सम्मानित गर्ने भएको छ। यसरी नै साहित्य सेवा श्री सम्मानले वाङ्गदी छिरिङ लामा, नाट्य सेवा श्री सम्मानले पुष्पराज अधिकारी, सङ्गीत सेवा श्री सम्मानले सीबी गुरुङ, पत्रकारिता सेवा श्री सम्मानले डिल्लीराम दुलाल र नृत्य सेवा श्री सम्मानले किरण लामालाई सम्मानित गरिने छ। सम्मानित व्यक्तित्वहरूलाई अंगवस्त्र, प्रशस्ति पत्र र स्मृति चिन्ह अर्पण गरिने छ।
परिषदले वर्षेनी भोटिया र लेप्चा समुदायबाट साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई भाषा गौरव सम्मानले सम्मानित गर्दै आएको छ। यसपाली लेप्चा भाषामा पुष्प छोडेन थोमस लेप्चा र भोटिया भाषामा हिस्से रिन्जिङ भोटियालाई सम्मानित गरिने छ।
यस अघि अध्यक्ष ढुङ्गेलले पूर्वार्धको कार्यक्रम भानु उद्यानमा आयोजन गरिने बताए, जसमा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्। भानु उद्यानमा कार्यक्रमको समापनसॅंगै शोभायात्रा निकालिने छ, जुन राजधानीको परिक्रमापछि मनन केन्द्रमा पुगेर समाप्त हुनेछ।
उनले यसपाली शोभायात्रा अन्तर्गत खुल्ला वर्गमा प्रतियोगिता हुने छैन भने विद्यार्थी वर्गमा प्रतियोगिता हुने जानकारी गराए। यस अतिरिक्त, यसपाली झॉंकी पनि नेपाली साहित्य परिषदद्वारा नै तयार गरिने उनले बताए। उत्तरार्धको कार्यक्रम दिउॅंसो 12:30 बजीदेखि मनन भवनमा शुरू हुनेछ।
यस अघि महासचिव नीलम न्यौपानेले 7 जुलाईका दिन कविता प्रतियोगिता (खुल्ला/विद्यार्थी) सम्पन्न गरिने बताए। यसरी नै 8 जुलाईका दिन रामायण पाठ प्रतियोगिता (खुल्ला/विद्यार्थी) सम्पन्न गरिने छ। उनले यसपाली अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय लिइएको र 9 जुलाईका दिन सो प्रतियोगिता सम्पन्न गरिने बताए। उनले 13 जुलाईका दिन यी प्रतियोगिताका विजेताहरूले आफ्नो प्रस्तुति दिने बताए।
हिन्दुस्थान समाचार / बिशाल