सोनादा, 30 जुलाई (हि.स.)। टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप चियाबारीको नयाँ बस्तीमा दिवस लिम्बूको घरमा आगलागी भएर एकजनाको वृद्धको मृत्यु भएको छ। मंगलवार रातिको समयमा सर्ट सर्किटको कारणले उक्त आगलागी भएको बताइएको छ। काठको घरमा आगलागी हुँदा घर सबै आगोले स्वाहा भएको छ।
दिवस लिम्बू कामको सिलसिलामा घरदेखि बाहिर रहेका छन्। घरमा अचानक आगलागी हुॅंदा दिवस लिम्बुकी पत्नी जगिमा लिम्बू (36 वर्ष), आमा सुकमाया लिम्बू (75 वर्ष), र छोरी संस्कृति लिम्बू (15 वर्ष) को ज्यान जोगिएको छ। तर, पिता नन्दकुमार लिम्बू (87 वर्ष) को आगोको चपेटमा परेर मृत्यु भएको छ। उनी भूतपूर्व सैनिक थिए र बिरामीका कारण विगत तीन वर्षदेखि ओछ्यानमा थिए।
आमा सुकमाया लिम्बूलाई आगोमा केही चोटको लागेको र उपचारको लागि सोनादा प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइयो। उनलाई प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज दिइएको छ। तर, पिता नन्दकुमार लिम्बूको आगोको चपेटमा परेर घटनास्थलमा मृत्यु भएको छ। शव पोस्टमार्टमको लागि दार्जिलिङ पठाइपछि घर ल्याएर बुधबार नै अन्तिम संस्कार गरिएको छ।
यस आगलागीको घटना सुन्नसाथ खरसाङबाट अग्निशमन विभागका कर्मचारीहरु, सोनादा पुलिस आउट पोस्टको पुलिस अधिकारी घटना स्थलमा पुगेका थिए। उक्त आगलागीको घटनालाई लिएर बुधवार बिहान टुंग सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा घटनास्थलमा पुगेर निरीक्षण गरे र पीडित परिवारसित भेटघाट गरे।
उनले घटनाको जानकारी जीटीए प्रमुख अनित थापालाई गराएको र सबै सरकारी अधिकारीहरुलाई पनि जानकारी गराएको बताएका छन्। उनले घाइते सुकमाया लिम्बूलाई आफ्नो गाडीमा खरसाङ महकुमा अस्पताल उपचारको लागि पठाएका थिए। उनले आवश्यक सहयोगको लागि पनि पहल गरिरहेको जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक