गान्तोक, 31 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले एक वर्षको कार्यकाल पूरा गरेका छन्। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपाललाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमा आज जारी आफ्नो सन्देशमा राज्यपाल ओम प्रकाश माथुरले सफलतापूर्वक एक वर्षको कार्यकाल पूरा गरेकोमा हर्ष व्यक्त गर्दै हार्दिक बधाई एवं शुभकामना दिएका छन्। उनले यो कुनै प्रशासनिक पडाव होइन, तर हाम्रो लोकतान्त्रिक मूल्यमान्यता, संवैधानिक दायित्व र जनसेवाको परम्पराको उत्सव रहेको बताएका छन्।
मुख्यमन्त्रीले विगत एक वर्षको कार्यकालमा राज्यपालले जुन गरिमा, आफ्नोपन, संकल्प र संवेदनशीलताका साथ राज्यको संवैधानिक प्रमुखको भूमिका निर्वाह गरेका छन्, त्यो हामी सबैको लागि अनुकरणीय छ भनी बताएका छन्। राज्यपालको कुशल नेतृत्व र निरन्तर मार्गदर्शनले राज्य प्रशासनलाई नयॉं दिशा दिएको छ र लोकतान्त्रिक संस्थाहरूलाई अझ धेरै सशक्त अनि गतिशील बनाएको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले यस पावन अवसरमा सिक्किम सरकारका साथै राज्यका सम्पूर्ण जनताको तर्फबाट राज्यपाललाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्। राज्यपालको अहिलेसम्मको कार्यकाल केवल प्रशासनिक दृष्टिबाट मात्र नभएर मानवीय संवेदना र जनसेवाको दृष्टिकोणबाट पनि उल्लेखनीय रहेको उनले बताएका छन्। मुख्यमन्त्रीले राज्यपालको सान्निध्यमा कार्य गर्ने अवसर प्राप्त भएकोमा आफैलाई भाग्यमानी ठानेको पनि जनाएका छन्।
मुख्यमन्त्रीले राज्यको सेवामा उनको अनुभव, उनको दृष्टि र उनको संवैधानिक मूल्यमान्यताप्रति अटूट निष्ठाले आफूलगायत सरकारलाई निरन्तर प्रेरित गरिरहेको उल्लेख गरेका छन्। राज्यपालले सदैव राज्यहितलाई सर्वोपरि राखेको र हरेक निर्णयमा जनभावनाहरूको सम्मान गरेको पनि मुख्यमन्त्रीले बताएका छन्।
उनले राज्यपालको मार्गदर्शन भविष्यमा पनि प्राप्त भइरहने विश्वास व्यक्त गर्दै मिलेर सिक्किमलाई विकास, शान्ति र समृद्धिको मार्गमा अगाडि लैजाने छौं भनेका छन्। उनले राज्यपालको सुस्वास्थ्य, दीर्घायु र यशस्वी जीवनको लागि कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल