मन्त्री पिञ्छो नामग्याल लेप्चाद्वारा साङ्कालाङ जङ्गूमा नयाँ पुलको उद्घाटन
मन्त्री पिञ्छो नामग्याल लेप्चाद्वारा साङ्कालाङ जङ्गूमा नयाँ पुलको उद्घाटन


मङ्गन, 13 अगस्त (हि.स.)। मन्त्री तथा जङ्गू निर्वाचन क्षेत्रका विधायक पिञ्छो नामग्याल लेप्चाले आज साङ्कालाङमा नवनिर्मित पुलको उद्घाटन गरे। सबै प्रकारका सवारी साधनका लागि खुला गरिएको नयाँ उद्घाटित पुलले यातायातका लागि महत्त्वपूर्ण सञ्जाल पुनर्स्थापनाको काम गर्नेछ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्री तथा जङ्गू निर्वाचन क्षेत्रका विधायक अनि सीमा सडक सङ्गठन (बीआरओ) र ग्रेफद्वारा निरन्तर सरकारसँग गरिएको समन्वित प्रयासलाई पनि यसले प्रतिबिम्बित गरेको छ।

पुलले जङ्गूका बासिन्दा साथै उत्तर सिक्किमको माथिल्ला भागहरू चुङथाङ, लाचेन र लाचुङका लागि पनि यातायात सञ्जालको जीवनरेखाका रूपमा काम गर्दछ। पछिल्ला समयमा निरन्तर वर्षा र बाढीका कारण दुईवटा पुल टिस्टा नदीले बगाएकाले मङ्गन जिल्ला र राज्यका अन्य भागहरू प्रभावित भएका थिए।

नयाँ उद्घाटित पुल स्थायी वर्गको २३० फिट लामो र ४० टनसम्मको वजन क्षमताको रहेको छ। सीमा सडक सङ्गठनको 'प्रोजेक्ट स्वस्तिक'अन्तर्गत १०७ आरसीसीले पाँच महिनामा यसको निर्माण गरेको हो।

उद्घाटन समारोहमा जिल्ला उपाध्यक्ष सोनाम किपा भोटिया, जिल्लापाल मङ्गन अनन्त जैन, एसपी सोनाम देछु भोटिया, एपीएस फुर्बा भोटिया, सीमा सडक सङ्गठनका वरिष्ठ अधिकारीहरू, एसडीएम जङ्गू गिडियन लेप्चा, बीडीओ डा. महेन्द्र तमाङ, आरओ जङ्गू अनन्त राई, अन्य गण्यमान्य व्यक्तिहरू तथा विभिन्न विभागका अधिकारी र कर्मचारीहरूको पनि उपस्थिति रहेको जानकारी मङ्गन डीआईओले दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande