आपदा प्रवन्धन प्राधिकरण गान्तोक जिल्लाको तत्परतामा आपदा प्रबन्धनबारे प्रशिक्षण
Disaster management training


गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। गान्तोक जिल्ला प्रशासन अधीनस्थ आपदा प्रबन्धन प्राधिकरण गान्तोक जिल्लाको तत्परतामा विभिन्न ग्राम पञ्चायत एकाईका स्वयंसेवक र जल विद्युत परियोजनाका कर्मचारीहरूको निम्ति क्षमता विकास प्रशिक्षण शुरु गरिएको छ। माउन्टनेरिङ एण्ड एजभेञ्चर इन्स्टिट्युड (एमएआई) सिक्किमले आपदा प्रबन्धनबारे प्रशिक्षित गरिरहेको छ।

पाँच दिवसीय आपदा प्रबन्धन क्षमता विकास कार्यक्रमको उद्घाटन गान्तोक जिल्लाका जिल्लापाल तुसार निखारेको उपस्थितिमा सम्पन्न भयो। एमएआईको प्रशिक्षण केन्द्र स्टोन एज 32 नम्बरमा भइरहेको प्रशिक्षणमा गान्तोक जिल्लाका विभिन्न जल विद्युत परियोजनाका कर्मचारी तथा विभिन्न ग्राम पञ्चायत एकाईका 50 जना स्वयंसेवीहरूवले प्रशिक्षण लिइरहेका छन्।

प्रशिक्षणमा रक क्लाइम्बिङ, रिभर क्रसिङ, ट्राभासिङ, क्याजल्टी लिफ्टिङ, रोप स्ट्रेचर, पिगीब्याङ, मक ड्रिल, जुमरिङ, ऱ्याप्लिङ, मेडिकल, रिभर रेस्क्यु जस्ता आपदाको समयमा आवश्यकतालाई ध्यानमा राखेर प्रशिक्षित गरिने छ।

जिल्ला आपदा प्रबन्धन प्राधिकरण गान्तोक जिल्लाका संयुक्त निर्देशक सोनाम वाङ्गेल लेप्चाले यो प्रशिक्षणमा ग्राम पञ्चायत स्तरबाटै आपदा प्रबन्धनको निम्ति स्वयंसेवीहरू तयार पारेर जिल्लामा राख्ने लक्ष्य राखिएको बताए। उनले यस प्रशिक्षणमा कुनै पनि जल विद्युत परियोजनाको ड्याम साइटमा हुनसक्ने सम्भावित आपदाको निम्ति पनि स्वयंसेवी तयार राख्ने निर्णय गरिएको बताए।

प्रशिक्षण उद्घाटन सत्रमा मुख्य अथितिको रूपमा उपस्थित जिल्लापाल तुषार निखारेले आफ्नो सम्बोधन राख्दै भने, जति पनि प्रशिक्षणमा आएकाहरू छन् उनीहरू मानसिक रूपमा स्वयंसेवकको प्रशिक्षण लिएर सेवा गर्न तत्पर हुनकै लागि आएको विश्वास छ। जसले भविष्यमा हुनसक्ने सम्भावित आपदाहरूमा सिभिल डिफेन्सको आवश्यकतालाई पूरा गर्ने क्षमतावान दल तयार गर्ने जिल्ला प्रशासनको पहलमा सहयोगी सिद्ध हुने बताए। उनले यसको निम्ति सबै प्रशिक्षणार्थीहरूले मन लगाएर प्रशिक्षण लिन आह्वान गरे। उनले सक्षम युवा बन्न मानसिक र शारीरिक रूपमा पर्ने आवश्यकतालाई यसले परिपूर्ति गर्ने पनि बताए।

आगामी 12 सेप्टेम्बरसम्म चल्ने प्रशिक्षणमा युवाहरूको सक्रिय सहभागिता रहेको एमएआईका प्राचार्य कुञ्जाङ ग्याछोले बताए। यसैगरि, प्रमुख प्रशिक्षक भाइचुङ योञ्जनले सम्पूर्ण प्रशिक्षणमा प्रत्यक्ष निगरानी राखेर युवाहरूलाई सबै विषयमा आधारभूत जानकारी दिइने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande