गान्तोक, 10 सेप्टेम्बर (हि.स.) दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत 41 माम्ले ग्राम पञ्चायत एकाईले सिक्किम कोअपरेटिभ सोसाइटीज एक्ट 1978 अन्तर्गत पञ्जिकरण गरेर माम्ले गाउँमा सहकारी पसल खोल्न सक्षम भएको छ। माम्ले ग्राम पञ्चायत एकाईको पहलमा थालिएको सहकारी समिति उद्घटान कार्यक्रम पञ्चायत उपसभापति अनिता तामाङले अध्यक्षता गरेकी थिइन्।
सहकारी समितिले थालेको पसलको विधिवत उद्घाटन कार्यक्रममा उपस्थित जोइन्ट रेजिस्टर लक्षुमण राईले प्रबन्धन समिति र बहुउद्देशीय सहकारी समितिको भुमिकाबारे अवगत गराए। उनले सहकारी समितिद्वारा गाउँमा पुग्ने सुविधा र त्यसले हुने सहकारिता विकासको महत्वपूर्ण कुरालाई प्रबन्धन समितिले बुझ्नुपर्ने तथा यसका सदस्यहरूले पनि सही रूपमा उपयोग गरेर सुविधाग्राही हुनका साथै उत्तरदायी बन्नु पर्ने आह्वान गरे।
माम्ले ग्राम पञ्चायत एकाईको यो पहिलो सहकारी समितिको उद्घाटनले स्थानीय सदस्यहरूलाई निक्कै लाभ पुग्ने देखिएको छ। उद्घाटन कार्यक्रममा उपस्थितिको निम्ति अध्यक्ष अनिता तामाङले सहकारी विभागलाई आभार प्रकट गरिन्। यसैगरी उनले माम्लेमा सहकारी समिति खोलिएपछि स्थानीयहरूलाई ठूलो राहत र सहयोग पुग्ने बताउँदै यसको सदुपयोग गर्न सबै अघि आउनुपर्ने आह्वान पनि गरिन्।
कार्यक्रममा ग्राम पञ्चायत एकाईका पञ्चायत सदस्य रेनुका मङ्गर, सहकारी निरिक्षक बिनिता तामाङ, सह सहकारी निरीक्षक बिजिता छेत्री, अञ्जन राई सहकारी समितिका प्रबन्धन समितिका अध्यक्ष सन्तोष कुमार मङ्गर लगायत सहकारी समितिका सदस्यहरूको उपस्थिति रहेको समितिका महासचिव जीएम मङ्गरले बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल