गान्तोक, 21 सेप्टेम्बर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयॉं दिल्लीमा केन्द्रिय रेलवे राज्यमन्त्री रवनीत सिंह बिट्टुलाई भेटेर सिक्किममा रेलवे कनेक्टिभिटीसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेका छन्।
सांसद सुब्बाले मन्त्रीलाई प्रस्तावित मल्ली-देन्ताम रेलवे लिंकको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) बारे जानकारी गराए, जुन केन्द्रिय रेलवे मन्त्री अश्विनी वैष्णवलाई उनको पहिलेको अनुरोधपछि मन्त्रालयले स्वीकृत गरेको थियो। उनले यस क्षेत्रमा पहुँच सुधार गर्न र सामाजिक-आर्थिक विकासलाई बढावा दिन परियोजनाको महत्त्वलाई ध्यानमा राख्दै एफएलएस चॉंडो पूरा गर्न मन्त्रीको हस्तक्षेपको लागि अनुरोध गरे।
उनले मन्त्रीलाई सेवक-रम्फू रेलवे लाइनको प्रगतिको बारेमा पनि जानकारी दिए र रम्फूमा सिक्किमको आगामी पहिलो रेलवे स्टेशनको बारेमा छलफल गरे। स्टेशनको संरचनात्मक डिजाइन पहिले नै अन्तिम रूप दिइसकिएको उल्लेख गर्दै सांसद सुब्बाले स्टेशनको डिजाइनले सिक्किमको संस्कृति, परम्परा र लोकाचार प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्न सानातिना परिमार्जनहरू समावेश गर्न अनुरोध गरे।
उनले रवनीत सिंह बिट्टुलाई प्रगतिको व्यक्तिगत रूपमा समीक्षा गर्न र रेलवे कनेक्टिभिटीको सम्बन्धमा जनताको आकांक्षा बुझ्नको लागि सिक्किम भ्रमणमा आउन हार्दिक निमन्त्रणा गरेको सांसद कार्यालयले विज्ञप्तिमा बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल