सोनादा, 21 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत निम्न रङ्गबुल गोर्खा बस्तीमा आइतवार नवनिर्मित आनन्द संघ समाज भवनको उद्घाटन गरियो। उक्त समाज घरको उद्घाटनमा प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए। कार्यक्रममा पूर्व पार्षद एनबी प्रधान, पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य जीवन प्रधान, लक्ष्मण ठकुरी, विभागीय अधिकारीहरु, समाजका प्रतिनिधिहरु र अन्यहरु उपस्थित रहेका थिए।
प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा प्रमुख अतिथि चौहान र 95 वर्षीय पूर्व शिक्षक नरबहादुर गिरीको बाहुलीद्वारा संयुक्त रूपमा रिबन काटेर समाज भवनको उद्घाटन गरियो। यस अवसरमा निम्न रङ्गबुल गोर्खा बस्तीमा नवनिर्मित आनन्द संघ समाजको तर्फबाट जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई सम्मान पनि जनाइयो।
नवनिर्मित आनन्द संघ समाजका कोषाध्यक्ष पुस्कर गिरीले आनन्द संघ समाजको समाज घर निर्माण गर्ने दीर्घकालीन माग आज आएर पूरा भएको बताए। उनले यस नवनिर्मित भवनमा विभिन्न सामाजिक र आध्यात्मिक कार्यक्रमहरु लगायत समाजका विभिन्न कार्यक्रमहरु आयोजना गर्न सुविधा भएको बताए। उनले यस समाज भवनको लागि क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र जीटीए प्रमुख अनित थापालाई समाजको तर्फबाट धन्यवाद दिए।
हिन्दुस्थान समाचार / हनोक