कोलकाता, 25 सेप्टेम्बर (हि.स.) । पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बिहीवार चुनाउ आयोगसित राज्यमा आगामी वर्ष 2026-मा हुने विधानसभा चुनाउपूर्व कथित रूपमा ओसारिरहेको हतियारहरूको भण्डारमाथि तत्काल संज्ञान लिने माग गरे।
अधिकारीले आयोगसित यो पनि अनुरोध गरे, यस मामिलामा राज्य प्रशासन वा पुलिसमाथि निर्भर नबसेर आफ्नो स्तरबाट पनि अनुसन्धान गरियोस्। उनले भने, “बंगालका जनतालाई निष्पक्ष, स्वतन्त्र औ भयमुक्त चुनाउ गर्ने अधिकार छ, मुख्यमन्त्री ममता ब्यानर्जीका गुण्डहरूद्वारा संचालित आतंकको शासनलाई छैन। यदि चुनाउ आयोगले यस कामको लागि बंगाल पुलिस अनि प्रशासनमाथि भरोसा गरिरहेको छ भने लोकतन्त्रलाई भगवानले नै बचाउन सक्नेछन्।”
उनले आफ्नो आरोपको समर्थनमा हालैमा भाइरल भएको एउटा भीडियोलाई माध्यम बनाए जसमा बीरभूम जिल्लाका एक जना कथित तृणमूल कंग्रेसका नेता तथा बालुवा तस्करी जस्ता आपराधिक मामिलाहरूमा कथित रूपमा सामेल रहेका डोलोन शेखलाई सार्वजनिक रूपमा कारतूस वितरण गर्दै गरेको देखिएको छ। यस घटनामाथि गत 24 सेप्टेम्बरमा हिन्दुस्तान समाचार-ले रिपोर्ट पनि प्रकाशित गरेको थियो।
नेता प्रतिपक्षले यो पनि स्मरण गराए, ममता ब्यानर्जी 2011 सालमा सत्तामा आउँदा उनले राज्यबाट अवैध हतियारहरूलाई समाप्त गर्ने वाचा गरेकी थिइन्। अधिकारीले भने, “आज के देखिँदैछ? बम, बन्दुक, कारतूस, पेस्तोल, जिलेटिन स्टिक तथा अन्य विस्फोटकहरूको अवैध निर्माण एवं व्यापारको नेटवर्क फलीफुली रहेको छ। यो सबै मुख्यमन्त्रीको संरक्षणमा भइरहेको छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा