मुर्शिदाबाद, 28 सेप्टेम्बर (हि.स.)। मुर्शिदाबाद जिल्लाको डोमकल थाना अन्तर्गत गाड़ाबाड़िया क्षेत्रमा पञ्चमीको राती एकजना व्यवसायीको हत्या भएकोले सम्पूर्ण क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। मृतकको नाम जिन्नात अन्सारी (57) रहेको छ जो हरिहरपाड़ाको तरतीपुर गाउँ निवासी थिए। जिन्नातले जमीनको व्यापार गर्दथे।
परिवारको आरोप छ, गए शनिवार अपरान्ह केही परिचित मानिसहरूले तिनलाई आफूहरूसित लिएर गएका थिए। अबेर राती पुलिसले गाड़ाबाड़ियाको एक मैदानबाट तिनलाई रगताम्मे अवस्थामा उद्धार गऱ्यो। तुरून्त तिनलाई मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ उपचारको क्रममा तिनको मृत्यु भयो।
परिवारको दाबी छ, मृतक जिन्नातले आफूमाथि हमला गर्ने ‘हमलाकारी’-हरूको नाम बताएका थिए। मृतकका छोरा राकिब अन्सारीले भने, “गए शनिवार अपरान्ह पितालाई केही मानिसहरूले बोलाएर लगेका थिए। त्यसपछि नै यो घटना भएको हो। कारण हामीलाई थाहा छैन, तर पिताले मर्नअघि केही मानिसहरूको नाम बताएका छन्। पुलिसले जाँच गरोस्।”
हत्या पछाड़िको कारणलाई लिएर अहिले पनि सस्पेन्स यथावत छ। आशंका व्यक्त गरिँदैछ, जमीनलाई लिएर विवाद भयो अनि विवाद बढ़ेर हत्यासम्म आइपुग्यो। क्षेत्रमा व्यापक तनाउ फैलिएको छ। हाल यस मामिलामा कसैलाई पक्राउ वा हिरासतमा लिएको खबर छैन। डोमकल थाना पुलिसले सूचीबद्ध आरोपीहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा