कांग्रेसले गर्‍यो भाजपा नेता प्रिन्टु महादेवमाथि कारबाहीको माग
कांग्रेसले गर्‍यो भाजपा नेता प्रिन्टु महादेवमाथि कारबाहीको माग


नयाँ दिल्ली, २९ सेप्टेम्बर (हि.सं.)। कांग्रेसका राज्यसभा सदस्य इमरान प्रतापगढीले एक्स मा भिडियो शेयर गर्दै आरोप लगाएका छन् कि एक मलयालम टेलिभिजन च्यानलको बहस कार्यक्रममा भाजपा नेता प्रिन्टु महादेवनले राहुल गान्धीलाई गोली हान्ने धम्की दिए। उनले प्रश्न उठाए– के राहुल गान्धीमाथि पनि त्यस्तै षड्यन्त्र भइरहेको छ, जस्तो महात्मा गान्धी र इन्दिरा गान्धीमाथि भएको थियो?

सांसद प्रतापगढीले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहलाई सोध्दै विपक्षी नेताको सुरक्षासँग यसरी खेलबाड किन भइरहेको छ भनेर प्रश्न गरे। साथै, उनले भाजपा अध्यक्ष जेपी नड्डासँग महादेवनमाथि तत्काल कारबाहीको माग गरेका छन्।

प्रतापगढीले भने, देश यस धम्कीप्रति मौन छ, जबकि टेलिभिजन बहसमा बसेका भाजपा नेताले कुनै झिझकबिनै यस्तो बयान दिएका छन्। गरीब, पछाडि परेका र वञ्चितहरूको आवाजलाई प्रखर रूपमा उठाइरहेका राहुल गान्धीलाई बाटोबाट हटाउने षड्यन्त्र भइरहेको उनले आरोप लगाए।

कांग्रेस प्रवक्ता पवन खेड़ाले एक्स मा लेखे, विपक्षी दल विचारधारामा हार्छन् भने उनीहरूका कार्यकर्ताहरू शारीरिक हिंसामा उत्रिन्छन्। पहिले गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए र अब भाजपा नेताहरू राहुल गान्धीलाई मार्ने धम्की दिइरहेका छन्। यो लाखौं गरीब, सीमान्तकृत र कमजोर वर्गको आवाज दबाउने ठूलो षड्यन्त्र हो।

यसअघि कांग्रेसका संगठन महासचिव केसी वेणुगोपालले केन्द्रिय गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै तत्काल कारबाहीको माग गरेका थिए। उनले यसलाई सोच-सम्झेर दिइएको धम्की बताउँदै राहुल गान्धीको सुरक्षाका लागि गम्भीर खतरा भएको बताएका थिए।

वेणुगोपालले भने, यस्ता शब्दहरूले विपक्षी नेता र नागरिकलाई प्राप्त हुने मौलिक सुरक्षा आश्वासनमाथि प्रश्न खडा गर्छ। उनले यसबारे सीआरपीएफलाई पनि पटक–पटक पत्र लेखिसकेको र राहुल गान्धीको सुरक्षाबारे चिन्ता जाहेर गरेको बताए। पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गेलाई पठाइएको यस्तै पत्र मिडियामा लिक भएको उल्लेख गर्दै उनले यसपछि यसको मंशामाथि शंका उब्जिएको बताए। उनले यसलाई निन्दनीय बताएका छन्।

उल्लेखनीय छ, भाजपा नेता प्रिन्टु महादेवनले एक मलयालम टेलिभिजन च्यानलमा लद्दाख हिंसाबारेको बहसका क्रममा राहुल गान्धीलाई छातीमा गोली हानिन्छ भन्ने टिप्पणी गरेका थिए। महादेवन अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) को केरल राज्य अध्यक्ष पनि रहिसकेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande