महाराष्ट्रको सम्भाजीनगरमा बाढीको प्रकोप जारी, ४०० परिवारलाई सुरक्षित स्थानमा सारियो
महाराष्ट्रको सम्भाजीनगरमा बाढीको प्रकोप जारी, ४०० परिवारलाई सुरक्षित स्थानमा सारियो


- संरक्षक मन्त्री संजय सिरसाटले गरे बाढीग्रस्त क्षेत्रहरूको निरीक्षण

मुम्बई, २९ सेप्टेम्बर (हि.स.)। महाराष्ट्रको मराठवाडा विभागअन्तर्गत सम्भाजीनगरमा लगातार दुई दिनदेखि बाढीको प्रकोप जारी छ। भिवगाँव, नारायणगाँवसहित १२ गाउँ बाढीको पानीले घेरेका छन्, जसका कारण खेतीबाली र करोडौं रुपियाँ बराबरको सम्पत्ति नष्ट भएको छ। सोमबार बिहानसम्म जिल्लाप्रशासनले करिब ४०० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। जिल्लाका संरक्षक मन्त्री संजय सिरसाटले मानिसहरूलाई संयमित रहन अपील गरेका छन्।

संरक्षक मन्त्री संजय सिरसाट र विधायक रमेश बोरनारेले आज नावमार्फत वैजापुर, भिवगाँव, नारायणगाँवजस्ता बाढीग्रस्त गाउँहरूको निरीक्षण गरे। निरीक्षणपछि सिरसाटले पत्रकारहरूलाई बताएअनुसार, जिल्ला प्रशासनले बाढीले प्रभावित भएका बस्तीमा सरकारी सहयोग पुर्‍याइरहेको छ। बाढीका कारण घरभित्रका दैनिक आवश्यक सामग्रीहरू नष्ट भएकाले प्रभावितहरूलाई आवश्यक सामग्री उपलब्ध गराइँदैछ। बाढीमा फसेकाहरूलाई उद्धार गर्न हेलिकप्टरको व्यवस्था भइरहेको बताउँदै उनले मंगलबारको क्याबिनेट बैठकमा प्रभावितहरूलाई सहयोगबारे निर्णय हुने जानकारी दिए।

स्थानीय स्रोतका अनुसार, सम्भाजीनगरमा चार दिनदेखि भइरहेको भारी वर्षाका कारण शहरका धेरै घर बगिसकेका छन् र किसानका पशुहरू समेत बगेका छन्। यससँगै नारंगी बाँधबाट १६०० क्युसेक पानी छोडिँदैछ, जसका कारण बहाव अझै बढ्ने सम्भावना छ। हालसम्म शहर र गाउँपालिका क्षेत्रमा करिब ४०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

उप-विभागीय अधिकारी डा. अरुण जरहाद निरन्तर परिस्थितिमा नजर राखिरहेका छन् भने तहसीलदार सुनील सावन्तले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन्। वैजापुर–विरगाँव पुलिस गस्ती टोली र वैजापुर नगरपालिकाका कर्मचारी पनि सतर्क रहँदै निरन्तर जानकारी र राहत कार्य सञ्चालन गरिरहेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande