गौतम बुद्ध नगर, २९ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतम बुद्ध नगरस्थित फेस–दुई थानाका पुलिसले आफ्नै अपहरणको कथा रचेका एक युवकलाई आइतबार पक्राउ गरेको छ। उसले आफ्ना परिवारजनसँग २० लाख रुपियाँको फिरौती मागेको थियो। युवक अनलाइन गेम खेल्दा ४.७० लाख रुपियाँ गुमाएको थियो। त्यसपछि उसले सानो भाइको मोबाइलमा मुख, हात र खुट्टा बाँधिएको तस्बिर पठाएर फिरौती मागेको थियो।
पुलिस उपायुक्त (जोन–२) शक्ति मोहन अवस्थीका अनुसार, २४ सेप्टेम्बरमा कासगंज निवासी किशोरले उजुरी दिएको थियो कि उसका दाजु आसाराम २ सेप्टेम्बरमा नोएडाको नयागाउँमा बस्ने भेनाका घर आएका थिए। १७ सेप्टेम्बरमा उनी कासगंज जाने भन्दै निस्किएका थिए तर घर पुगेनन्। २१ सेप्टेम्बरमा उजुरीकर्ताको मोबाइलमा फोन आयो कि आसारामलाई अपहरण गरिएको छ र ३ दिनभित्र २० लाख नदिए मारिनेछ।
मोबाइलमा आसारामका तस्बिरहरू पनि पठाइएका थिए जसमा उनको मुखमा पट्टी बाँधिएको र हात–खुट्टा बेरेको देखिन्थ्यो। अनुसन्धान गर्दा आसारामको लोकेशन हिमाचल प्रदेशको सोलनमा भेटियो। त्यहाँको एक घरमा उनले मोबाइल प्रयोग गरिरहेको अवस्थामा पुलिसले पत्ता लगायो।
प्रश्नोत्तरमा आसारामले बताए, उनी लगातार अनलाइन गेम खेल्थे, कहिले जित्थे, कहिले हार्थे। केही समय अघि उनले ४.७० लाख रुपियाँ गुमाएका थिए। त्यसपछि आफैँको अपहरणको स्क्रिप्ट बनाए। दिल्ली हुँदै हिमाचल पुगेपछि उनले त्यहाँका एक व्यक्तिसँग मुख, हात र खुट्टा बाँधिदिन अनुरोध गरेर तस्बिर खिचाए। त्यसलाई भाइलाई पठाई आवाज परिवर्तन गरेर फोनमा अपहरण भएको जानकारी दिएका थिए। अनि २० लाख रुपैयाँ मागेका थिए।
उनको साथबाट पाँच डेबिट कार्ड र आधार कार्ड बरामद भएको छ। उनले कलर ट्रेडिङ बीडीजी गेम एपमा पैसा लगाउँथे। विज्ञापन देखेर करिब एक वर्षअघि उनी यसमा लतमा परेका थिए। उनले आफू चाँडै धनी बन्ने सपना देखेका कारण अनलाइन गेम रोजेको बताएका छन्। उनलाई आशा थियो कि परिवारजनले जग्गा बेचेर फिरौती तिर्नेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी