
नयाँ दिल्ली, १५ जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सेना दिवसका अवसरमा भारतीय सेनाको अदम्य साहस, पराक्रम र कर्तव्यनिष्ठाप्रति नमन व्यक्त गरेका छन्। प्रधानमन्त्रीले भने, भारतीय सेनाका जवानहरू निःस्वार्थ सेवा र अटल संकल्पका प्रतीक हुन्, जसले प्रत्येक परिस्थितिमा देशको सुरक्षा सुनिश्चित गर्छन्। उनीहरूको कर्तव्यबोधले सम्पूर्ण देशमा विश्वास र कृतज्ञताको भावना जागृत गराउँछ। कर्तव्यपथमा आफ्नो प्राण अर्पण गर्ने वीर सैनिकहरूलाई उनले श्रद्धापूर्वक स्मरण पनि गरे।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अलग–अलग सन्देश साझा गर्दै दुर्गम क्षेत्रदेखि हिमाली शिखरसम्म भारतीय सेनाको शौर्य र पराक्रमले प्रत्येक देशवासीलाई गर्व महसुस गराउने बताए। सीमामा तैनाथ जवानहरूलाई देशले हृदयदेखि अभिनन्दन गर्दछ भनी उनले उल्लेख गरेका छन्।
यस अवसरमा प्रधानमन्त्रीले एक संस्कृत सुभाषित पनि साझा गरे, जसमा उनले सशस्त्र बलहरूको साहस, आत्मविश्वास र कर्तव्यको शाश्वत भावको प्रशंसा गरेका छन्। उनले उद्धृत गरे—अस्माकमिन्द्रः समृतेषु ध्वजेष्वस्माकं या इषवस्ता जयन्तु।अस्माकं वीरा उत्तरे भवन्त्वस्माँ उ देवा अवता हवेषु॥
(अर्थ— युद्धमा हाम्रो ध्वज फरफराइरहोस्, हाम्रा शस्त्रहरू विजयी बनून्। हाम्रा वीर सदा श्रेष्ठ र अग्रणी रहून्। हे देवताहरू, युद्ध र संकटको घडीमा हाम्रो रक्षा गर।)
यो श्लोकले राष्ट्र र सेनाका लागि विजय, वीरता र ईश्वरको कृपाको कामना व्यक्त गर्छ। यसमा सैनिकहरूको शौर्य, पराक्रम तथा राष्ट्र सुरक्षाका लागि उनीहरूको अदम्य संकल्प प्रतिबिम्बित गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी