खरसाङमा दुर्गा पूजा गाइड म्याप सार्वजनिक, २८ पूजा समितिलाई आर्थिक सहयोग
Darjeeling police


खरसाङ, 12 अक्टोबर (हि.स.)।दार्जिलिङ जिल्ला पुलिस प्रशासनले दुर्गा पूजालाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला दुर्गा पूजा गाइड म्याप सार्वजनिक गरेको छ। यस अवसरमा खरसाङ महकुमाअन्तर्गतका २८ वटा दुर्गा पूजा आयोजक समितिलाई एक लाख रुपियाँका दरले आर्थिक सहयोग पनि प्रदान गरिएको छ।

खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा आयोजित कार्यक्रममा दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ राव, खरसाङका विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीलगायतको उपस्थितिमा गाइड म्याप सार्वजनिक गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पुलिस अधीक्षक रावले दुर्गा पूजा राज्यकै प्रमुख उत्सवमध्ये एक भएकाले यसलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा मनाउनुपर्ने बताए। उत्सवका समयमा दार्जिलिङ पहाड घुम्न आउने पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले ट्राफिक व्यवस्थापनमा पुलिस प्रशासनसँगै स्थानीयवासीको सहयोग पनि आवश्यक रहेको बताए।

उनले प्रत्येक दुर्गा पूजा मण्डपमा ट्राफिक सचेतना, साइबर सुरक्षा तथा लागुऔषध सेवन रोकथामसम्बन्धी सचेतनामूलक पोस्टर राख्न आयोजक समितिहरूलाई आग्रह गरे।

कार्यक्रममा विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा तथा अतिरिक्त पुलिस अधीक्षक अनिन्दा सुन्दर भट्टाचार्यलगायतले दुर्गा पूजाका समयमा ट्राफिक व्यवस्थापन र सुरक्षा उपायहरूको महत्त्वबारे मन्तव्य राखेका थिए।

कार्यक्रममा खरसाङ महकुमाका विभिन्न स्थानमा दुर्गा पूजा आयोजना गर्ने २८ वटा संघसंस्थालाई एक लाख रुपियाँका दरले चेक वितरण गरियो। चेक वितरण कार्यक्रममा प्रशासनिक अधिकारी, पुलिस अधिकारी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande