राज्यपाल स्वर्ण कप: क्वार्टर फाइनलमा ब्ल्याक ईगललाई हराउँदै शिलङ लाजोङ सेमिफाइनलमा
फुटबल प्रतियोगिता


गान्तोक, 12 अक्टोबर (हि.स.)। ४२औँ अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल प्रतियोगिता २०२६ को अन्तिम क्वार्टरफाइनल खेल आज शिलङ लाजोङ एफसी बनाम ब्ल्याक ईगलबीच सम्पन्न भयो। यहाँको पाल्जोर स्टेडियममा सम्पन्न रोमाञ्चक खेलमा शिलङ लाजोङ एफसीले ब्ल्याक ईगललाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो गोल शिलङ लाजोङले गरेको थियो। शिलङ लाजोङका खेलाडी केनस्टार खारसोङले खेलको ४०औँ मिनेटमा गोल गरेर आफ्नो दललाई एक गोलको अग्रता दिलाए। उनले पेनल्टीमार्फत गोल गरेका थिए।

यसको लगत्तै खेलको ४३औँ मिनेटमा ब्ल्याक ईगलको तर्फबाट राहुल पासवानले गोल गरेर खेल एक-एक गोलको बराबरीमा ल्याए। फर्स्ट हाफको खेल एक-एक गोलको बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफमा शिलङ लाजोङ प्रतिद्वन्द्वी दलमाथि निकै हावी देखियो। दोस्रो हाफमा शिलङ लाजोङको तर्फबाट सब्स्टीट्यूट खेलाडी एभरब्राइटले खेलको ५६औँ र ९३औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। दुई गोल गरेका एभरब्राइट म्यान अफ द म्याच घोषित गरियो।

आज सडक तथा पुल विभागका मन्त्री एमबी दाहाल मुख्य अतिथि तथा‌ वन एवं पर्यावरण विभागका मन्त्री पिन्छो नामग्याल लेप्चा र सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जी विशेष अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सिक्किम आक्रमण र गोकुलम केरला आमनेसामने हुनेछन्। खेल साँझ ५ बजी फ्लडलाइटमा सञ्चालन हुने आयोजक सिक्किम फुटबल एसोसिएसनले बताएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande