
नाम्ची, 30 अक्टोबर (हि.स.)। सिक्किम सरकारका वन तथा पर्यावरण मन्त्री पिन्चो नामग्याल लेप्चाको मुख्य आतिथ्यमा आज याङगाङमा आयोजित तीनदिने ‘ब्लूमिङ याङगाङ २०२६’ महोत्सवको दोस्रो दिन शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
याङगाङ पर्यटन विकास समितिद्वारा आयोजित यस महोत्सवको दोस्रो संस्करण २९ देखि ३१ अक्टोबरसम्म सञ्चालन भइरहेको छ। पुष्पखेती, स्थानीय उद्यमशीलता, पर्यटन तथा क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
कार्यक्रममा क्षेत्र विधायक तथा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत तथा अन्य विशिष्ट अतिथिहरु उपस्थिति थिए।
महोत्सवको दोस्रो दिन पनि फूल उत्पादक, कृषक, उद्यमी, हस्तकलाकर्मी तथा आगन्तुकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। प्रदर्शनीमा ५१ भन्दा बढी कक्ष राखिएका छन्, जहाँ विभिन्न प्रकारका फूल तथा पुष्पखेतीसँग सम्बन्धित उत्पादनहरू प्रदर्शन गरिएका छन्। यस प्रदर्शनीले स्थानीय उत्पादक तथा उद्यमीहरूलाई आफ्ना उत्पादन प्रदर्शन गर्न, अनुभव आदानप्रदान गर्न र पुष्पखेती तथा यससँग सम्बन्धित क्षेत्रमा नयाँ अवसर खोज्न महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।
‘ब्लूमिङ याङगाङ २०२६’ नाम्ची जिल्ला स्तरमा याङगाङ पर्यटन विकास समितिले सिक्किम सरकारको कृषि तथा बागवानी विकास विभाग र खाद्य प्रशोधन विभागसँगको सहकार्यमा आयोजना गरेको हो। यस महोत्सवले कृषि, पुष्पखेती, स्थानीय उद्यम तथा सांस्कृतिक पर्यटनमार्फत दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्दै याङगाङलाई उदीयमान पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
साथै क्षेत्रको प्राकृतिक सौन्दर्य, मौलिक परम्परा तथा उद्यमशीलताको सम्भावनालाई उजागर गर्न स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्य पनि महोत्सवले लिएको छ।
तीनदिने महोत्सव ३१ अक्टोबरमा समापन हुनेछ। महोत्सवले क्षेत्रको पुष्प विविधता, कृषि सम्भावना, सांस्कृतिक पहिचान तथा सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल