सीएपीको समन्वय बैठक सम्पन्न, नाम्ची जिल्लामा सङ्गठन विस्तार र जनस्तरको सहभागितामा जोड
सीएपीको समन्वय बैठक सम्पन्न


गान्तोक, 30 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नाम्ची जिल्ला कार्यकारी परिषद्को मासिक समन्वय बैठक शुक्रबार नाम्चीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता पार्टीका उपाध्यक्ष तथा नाम्ची जिल्ला कार्यकारी परिषद्का अध्यक्ष डीबी गुरुङले गरेको थियो।

बैठकमा जिल्लाभित्र पार्टीका गतिविधिहरूको समीक्षा, सङ्गठनात्मक प्रगतिको मूल्याङ्कन तथा सङ्गठनको आधार बलियो बनाउने रणनीतिबारे विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। विशेषगरी सदस्यता विस्तार, सङ्गठनात्मक समन्वय, निर्वाचन क्षेत्रस्तरीय कार्यसम्पादन, जनसम्पर्क तथा हालै सम्पन्न पार्टीको १०औँ सीईसी बैठकका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा जोड दिइयो।

बैठकमा विभिन्न विधानसभा क्षेत्रीय कार्यकारी परिषद्का अध्यक्षहरूले आ-आफ्नो क्षेत्रको सङ्गठनात्मक गतिविधि, सदस्यताको अवस्था, जनस्तरमा भएका गतिविधि, विद्यमान चुनौती तथा आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गरे। जिल्लाअन्तर्गतका विभिन्न परिषद्का प्रमुखहरूले पनि आ-आफ्ना गतिविधि, संस्थागत जिम्मेवारी तथा थप ध्यान दिनुपर्ने विषयबारे जानकारी गराए।बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष गुरुङले पार्टी अध्यक्ष गणेश कुमार राईका तर्फबाट जिल्लाका सबै नेता, पदाधिकारी, परिषद्का प्रतिनिधि तथा कार्यकर्ताहरूलाई सङ्गठन सुदृढीकरणमा पुर्‍याउँदै आएको योगदानका लागि आभार व्यक्त गरे। उनले पार्टी अध्यक्षले सङ्गठनलाई सही दिशा प्रदान गर्न तथा जिल्लाभर पार्टीको उपस्थिति बलियो बनाउन निरन्तर गरिरहेको प्रयास र प्रतिबद्धताको पनि प्रशंसा गरे।

गुरुङले राजनीतिक सङ्गठनको शक्ति र विश्वसनीयता जनतासँगको सम्बन्ध तथा उनीहरूका दैनिक समस्याप्रति अर्थपूर्ण रूपमा प्रतिक्रिया जनाउने क्षमतामा निर्भर रहने बताए। उनले सबै पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूलाई अझ बढी समर्पण, राजनीतिक परिपक्वता र सार्वजनिक जवाफदेहिताको भावनाका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरे।

उनले पार्टीका गतिविधिहरूलाई गाउँस्तरसम्म संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक गतिविधि प्रत्येक गाउँ र समुदायसम्म विस्तार हुनुपर्ने बताए। नियमित गाउँस्तरीय कार्यक्रम, जनसम्पर्क तथा विभिन्न जनसरोकारका विषयमा छलफलले जनताका गुनासा बुझ्न, जनसहभागिता बढाउन र शासन तथा सार्वजनिक नीतिसम्बन्धी पार्टीको धारणा जनतासमक्ष पुर्‍याउन प्रभावकारी भूमिका खेल्ने उनको भनाइ थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande