
कोकराझार (असम), 08 अक्टोबर (हि.स.)। असमको कोकराझार जिल्लामा बोडोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी) का मुख्य कार्यकारी सदस्य हग्रामा माहिलारीसँग कथित रूपमा व्यक्तिगत सहायकको रूपमा जोड़िएका 47 वर्षीय महेश ब्रह्माको शव आज जिल्लाको खार गाँउस्थित नवनिर्मित रेलवे फ्लाइओभरमा झुण्डिरहेको अवस्थामा फेला परेको छ। घटनापछि पुलिसले अनुसन्धान शुरु गरेको छ।
सूचना पाए लगत्तै पुलिस मेजिस्ट्रेट घटनास्थलमा पुगे। शवलाई तल उतारेर पोस्टमार्टम गर्नको लागि पठाइएको छ। पुलिसले मृत्युको कारण अनि परिस्थितिको अनुसन्धान गरिरहेको छ।
तथापि प्रारम्भिक रूपमा यो घटनालाई आत्महत्यासँग जोड़ेर हेरिँदैछ, तर ब्रह्माको परिवारका सदस्यहरूले यस सम्भावनालाई अस्वीकार गरेका छन्। उनीहरूले उनको हत्या गरेपछि शवलाई फ्लाइओभरमा झुण्डाइएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।
बीटीसीका कार्यकारी सदस्य प्रकाश बसुमतारीले घटनास्थलको भ्रमण गरी पुलिसलाई यस विषयमा गहन अनुसन्धान गर्न र सबै पक्षलाई लिएर अनुसन्धान गर्न आग्रह गरे।
पुलिसले घटनास्थलमा फेला परेका प्रमाण र अन्य परिस्थितिहरूको अनुसन्धान गरिरहेको छ। पोस्टमार्टम रिपोर्टबाट मृत्युको वास्तविक कारण खुलासा हुने अपेक्षा गरिएको छ।
ब्रह्मा कथित रूपमा सांस्कृतिक क्षेत्रसँग पनि सम्बन्धित थिए जो आफ्नो शान्त र कोमल स्वभावको लागि परिचित थिए। उक्त घटनाले स्थानीय जनतामा चिन्ता र शोक छाएको छ। पुलिसको अनुसन्धान जारी छ भने मृत्युको सही परिस्थिति अझै स्पष्ट भएको छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा