
खरसाङ, 0८ अक्टोबर (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा तीनधारे-घैयाबारी-महानदी समष्टिको सांगठनिक सभा घैयाबारीको गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। गोर्खा जनमुक्ति युवा मोर्चाका केन्द्रिय सदस्य योगराज प्रधानको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन घैयाबारी खण्ड समितिका संयोजक दीप सन्यासीले गरेका थिए।
सभामा लामो समयदेखि निष्क्रिय रहेका घैयाबारी निवासी देवमणि राई पुनः गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। उनलाई समष्टि सचिव सुरेशचन्द्र दर्नालले पार्टीमा स्वागत गरे। सभामा सुकना क्षेत्रबाट खरसाङ महकुमा नारी मोर्चाकी सहसचिव ज्योति शर्मासहित अन्य सदस्यहरूको पनि सहभागिता रहेको थियो।
सभामा वक्ताहरूले पार्टीका सांगठनिक गतिविधि, संगठन विस्तार तथा पार्टीको २०औँ स्थापना दिवसका विषयमा छलफल गरे। पार्टीका सांगठनिक गतिविधिलाई निरन्तर र तीव्र रूपमा अघि बढाउने निर्णयसमेत सभाले गरेको छ।
सभालाई योगराज प्रधान, गगन खाती, विवेक ठटाल, अञ्जली गुरुङ, ज्योति शर्मा, रेखा गुरुङ, सुकनाका पवन क्षेत्री तथा गिद्ध पहाडबाट खरसाङ महकुमा सहसचिव युवराज लामालगायतले सम्बोधन गर्दै पार्टीको संगठन विस्तार तथा भावी कार्यक्रमबारे आफ्ना विचार राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक