
गान्तोक, 09 अक्टोबर (हि.स.)। ग्रामीण क्षेत्रमा तल्लो तहको शासन व्यवस्था सुदृढ़ गर्न, प्रशासनिक दक्षता अभिवृद्धि गर्न र सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ राज्य ग्रामीण विकास एवं पञ्चायती राज संस्थान’ (एसआईआरडी तथा पीआर), सिक्किमले 5 देखि 9 अक्टोबरसम्म (तेस्रो ब्याच) कर्फेक्टारस्थित आफ्नै परिसरमा ग्रामीण विकास कार्यक्रमहरूमा सुशासन र सार्वजनिक सेवा प्रवाह विषयक पाँचदिने तालिम कार्यक्रम सञ्चालन गरेको छ।
तालिम कार्यक्रमको यस तेस्रो ब्याचमा सोरेङ जिल्लाका तीनवटा ब्लक-कलुक ब्लक, मङ्गलवारे ब्लक र बैगुने ब्लकका कुल 91 जना सहभागीले भाग लिएका थिए।
सहभागीहरूमा निर्वाचित जनप्रतिनिधि, सहायक निर्देशक, ग्राम प्रशासनिक सहायक (भीएए)/कनिष्ठ भीएए, कार्यालय सहायक तथा सहयोगी, डीएमए/डीएमएस, पीडीए, पीपीएमएसका कर्मचारीहरू तथा परियोजना र अनुगमन सहायकहरू समावेश थिए। यस कार्यक्रमले निर्वाचित जनप्रतिनिधि र स्थलगतस्तरका कर्मचारीहरूलाई सुशासनसम्बन्धी ज्ञान बढ़ाउन, अनुभवहरू आदान-प्रदान गर्न र ग्रामीण प्रशासन सुधारका लागि व्यावहारिक रणनीतिहरू विकास गर्न साझा मञ्च प्रदान गर्यो।
तालिममा सुशासनका सिद्धान्त तथा विशेषता संस्थागत मूल्यमान्यता, सार्वजनिक प्रशासन, कार्यालय व्यवस्थापन, आन्तरिक स्रोतबाट प्राप्त राजस्व (ओएसआर), अभिलेख व्यवस्थापन र ग्रामीण विकास कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन जस्ता विषयहरू समेटिएका थिए।
यो तालिम एसआईआरडी तथा पीआर, सिक्किमका निर्देशक विशाल मुखिया (एससीएस) को सक्षम निर्देशन र मार्गदर्शनमा आयोजना गरिएको थियो।
तालिमका सत्रहरू एसआईआरडी तथा पीआरकी उपनिर्देशक तथा पाठ्यक्रम निर्देशक डा. तारा शर्मा, सोरेङ खण्डका कनिष्ठ सङ्काय सदस्य सुवास राई, पोकलोक-नन्दुगाउँ ब्लककी कनिष्ठ सङ्काय सदस्य दिल माया राई, दरामदिन ब्लकका कनिष्ठ सङ्काय सदस्य विकास हिङ्माङसहितसहित अन्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा ताञ्जी-बिकमात जीपीयूका पञ्चायत अध्यक्ष अर्जुनकुमार राईद्वारा एक विशेष सत्र सञ्चालन गरियो। उनले स्थानीय शासन, स्रोत परिचालन, कार्यालय प्रशासन र सार्वजनिक सेवाको प्रभावकारी प्रवाहसम्बन्धी व्यावहारिक अनुभव तथा उत्कृष्ट अभ्यासहरू साझा गरे।
यस कार्यक्रमको एक महत्त्वपूर्ण अंश जोरथाङ खण्डस्थित पोकलोक ग्राम पञ्चायत केन्द्रको अवलोकन भ्रमण रहेको थियो, जसले सहभागीहरूलाई तल्लो तहको शासन व्यवस्था र स्थानीय संस्थाहरूको कार्यप्रणालीबारे प्रत्यक्ष अनुभव प्रदान गर्यो।
कार्यक्रममा समूहगत छलफल व्यावहारिक अभ्यास, सहकर्मीहरूबाट सिक्ने प्रक्रिया र प्रस्तुतिकरणजस्ता सहभागितामूलक विधिहरू अपनाइएका थिए। सहभागीहरूले पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व र ग्रामीण विकास संस्थाहरूबीचको सुदृढ़ समन्वयमा जोड़ दिँदै सुशासन र सार्वजनिक सेवा प्रवाहसम्बन्धी नमूना कार्ययोजनाहरू तयार पार्ने कार्य गरे।
समापन सत्रमा समूहगत प्रस्तुतिकरण, सहकर्मीहरूबाट प्रतिक्रिया, शिक्षणको एकीकरण र तालिमपछिको मूल्याङ्कन समावेश थिए। कार्यक्रममा प्राप्त ज्ञान र अनुभवहरूलाई दैनिक प्रशासन तथा सार्वजनिक सेवा प्रवाहमा ठोस सुधारका रूपमा रूपान्तरण गर्ने कुरामा विशेष जोड़ दिइयो।
सोरेङ जिल्लाका तीनवटा ब्लकबाट 91 जना प्रतिनिधि तथा पदाधिकारीहरूको सक्रिय सहभागिताले तल्लो तहमा संस्थागत क्षमता सुदृढ़ गर्ने दिशामा महत्त्वपूर्ण कदम साबित गर्यो।
यस कार्यक्रमले समावेशी ग्रामीण विकासका लागि उत्तरदायी, सहभागितामूलक, पारदर्शी र नागरिककेन्द्रित शासन व्यवस्थालाई प्रवर्द्धन गर्दै पञ्चायती राज संस्थाहरू तथा ग्रामीण विकास पदाधिकारीहरूको क्षमता सुदृढ़ गर्ने एसआईआरडी सिक्किमको निरन्तर प्रयासलाई पुनः पुष्टि गर्यो।
---------------
हिन्दुस्थान समाचार / बिशाल