
जङ्गु, 01 नोभेम्बर (हि.स.)। सिक्किम पर्यटन विभागद्वारा १ देखि ७ नोभेम्बरसम्म नामथाङको लिङ्खिम टारमा आयोजना भइरहेको एकसाताव्यापी सिक्किम साहसिक पर्यटन महोत्सव २०२६ अन्तर्गत मङ्गन जिल्लाको लोवर जङ्गुस्थित लुम सरकारी प्राथमिक विद्यालय परिसरबाट ‘हार्ट अफ सिक्किम, कुर्सोङ कुर्मित ट्रेल’ को आज औपचारिक शुभारम्भ गरियो।
कार्यक्रममा वन तथा वातावरण मन्त्री पिन्चो नामग्याल लेप्चा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस ट्रेलको शुभारम्भलाई जङ्गुको विशिष्ट प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको पहिचान गराउँदै साहसिक पर्यटन प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले कुर्सोङ कुर्मित ट्रेलको परिकल्पना र निर्माणसम्मको लामो यात्राबारे जानकारी दिए। उनले ट्रेल स्थापनाअघि गरिएको योजना, तयारी तथा स्थलगत निरीक्षणको स्मरण गर्दै लामो समयदेखि प्रतीक्षा गरिएको यो पहल अन्ततः कार्यान्वयनमा आएकोमा सन्तुष्टि व्यक्त गरे।
उनले यस परियोजनामा सहयोग पुर्याएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गर्दै यसको सफलतामा स्थानीय समुदायको योगदान र सहकार्यको प्रशंसा गरे। साथै, ट्रेललाई आधिकारिक रूपमा अधिसूचित तथा स्वीकृत गरिसकिएको जानकारी दिए।
कुर्सोङ कुर्मित ट्रेल एक चक्राकार पदयात्रा मार्ग हो। यसले पदयात्रीहरूलाई जङ्गुको प्राकृतिक वातावरण र विशिष्ट भौगोलिक बनावटको अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
मन्त्रीले १ देखि ७ नोभेम्बरसम्म राज्यका विभिन्न जिल्लामा सिक्किम साहसिक पर्यटन महोत्सव मनाइरहेको जानकारी दिँदै प्रत्येक जिल्लामा त्यहाँको साहसिक पर्यटन सम्भावना उजागर गर्न विभिन्न पदमार्गको शुभारम्भ कार्यक्रम आयोजना भइरहेको बताए। मङ्गन जिल्लामा ‘हार्ट अफ सिक्किम’ विषयअन्तर्गत जङ्गुको कुर्सोङ कुर्मित पदमार्गलाई समावेश गरिएको छ।
उनले पदयात्रामा सहभागी हुनेहरूलाई शुभकामना दिँदै सुरक्षित, स्मरणीय र सफल यात्राको कामना गरे। साथै, क्षेत्रको प्राकृतिक वातावरणप्रति जिम्मेवार रहँदै पर्यटन गतिविधिमा सहभागी हुन आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल