
बोङ्गाईगाउँ (असम), 28 नोभेम्बर (हि.स.)। जिल्लाको जोगीघोपा क्षेत्रमा आज बिहान सवेरै भएको भयानक सड़क दुर्घटनामा एकजना मानिसको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान महेश अलीका रूपमा भएको छ। जोगीघोपाको राष्ट्रिय राजमार्ग- 17 मा नरनारायण पुल नजिकै भएको यस भयानक सड़क दुर्घटनामा अन्य तीन जना मानिसहरू घाइते भएको बताइएको छ।
यो दुर्घटना डम्पर र मारुती अल्टो कार आपस्तमा ठोक्किएको कारणले भएको हो। दुर्घटनामा मारुती कारमा सवार एकजना यात्रुको घटनास्थलमै मृत्यु भयो भने अन्य तीन जना यात्रुहरू गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई प्रारम्भिक उपचारको लागि चलन्तपारा सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो। पछि उनीहरूलाई उन्नत उपचारका लागि बोङ्गाईगाउँ मेडिकल कलेजमा लगियो। घाइतेहरूको पहिचान बादशाह अली, गजिबुर रहमान र अब्दुल सलामका रूपमा भएको छ।
जानकारी अनुसार मृतक एवं घाइतेहरू सबै धुबड़ी जिल्लाको बिलासीपाड़ाका बासिन्दा हुन्। डम्पर (एएस-01एमसी-3021) बोङ्गाईगाँउँबाट ग्वालपाड़ातिर गइरहेको थियो भने मारुती कार (एएस-01जीयू-2471) ग्वालपाड़ाबाट बिलासिपारातिर गइरहेको थियो। दुर्घटनाका कारण उक्त क्षेत्रमा गम्भीर ट्राफिक जाम भयो। जोगीघोपा पुलिसले घटनास्थलमा पुगेर जाम खोलायो। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा