
कोलकाता, 04 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मौसमको स्वरूप बिस्तारै परिवर्तन हुन थालेको छ। बुधवार राज्यका अधिकांश जिल्लाहरूमा मौसम मुख्यतया सुख्खा रहने अनुमान गरिएको छ। तथापि कतिपय क्षेत्रहरूमा हल्का वर्षा हुन सक्छ। अलिपुर मौसम विज्ञान विभाग (आरएमसी कोलकाता) अनुसार आगामी केही दिनसम्म राज्यमा व्यापक वर्षा हुने सम्भावना छैन। योसँगसँगै आउँदो दिनमा न्यूनतम तापक्रम बिस्तारै घट्ने सम्भावना छ।
मौसम विभागको पूर्वानुमान अनुसार आगामी 48 घण्टासम्म रातको तापमान कुनै उल्लेखनीय परिवर्तन हुने आशा छैन। त्यसपछि आगामी तीन दिनमा न्यूनतम तापमान दुईदेखि तीन डिग्री सेल्सियससम्म घट्ने सम्भावना छ। यसले बिहान-बेलुकी हल्का चिसोको अनुभूति बढाउनेछ। यद्यपि हाल राज्यमा कठ्याङ्ग्रिने चिसो हुने सम्भावना भने छैन।
कोलकाता एवं वरपरका जिल्लाहरू क्रमैले हावडा, हुगली तथा उत्तर र दक्षिण 24 परगनामा बुधवार आंशिक बादल लागेपछि आकाश सफा हुने सम्भावना छ। कोलकातामा अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस अनि न्यूनतम 24-26 डिग्री सेल्सियस लगभग रहनसक्छ। दिउँसो आद्रता महसूस हुनसक्छ।
दक्षिण बङ्गालका पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बाँकुड़ा एवं पश्चिम बर्दवान सहित दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा पनि मौसम मुख्यतया सुख्खा रहने अनुमान गरिएको छ। समुद्री हावाको कारणले तटीय क्षेत्रहरूको मौसम अपेक्षाकृत सुखद रहनसक्छ। हाल यी क्षेत्रहरूका लागि कुनै ठूलो मौसमी खतरा हुने पूर्वानुमान गरिएको छैन।
उत्तर बङ्गालको दार्जीलिङ र कालेबुङका पहाडडी क्षेत्रहरूमा बिहान-बेलुकी चिसोको प्रभाव बढ़्न थालेको छ। यी क्षेत्रहरूमा हल्का कुहिरो पनि देख्न सकिन्छ। जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, मालदा एवं उत्तर तथा दक्षिण दिनाजपुरका मैदानी क्षेत्रहरूमा सामान्यदेखि सुख्खा मौसम रहने सम्भावना छ। पहाड़ी क्षेत्रहरूमा अधिकतम तापक्रम 20-23 डिग्री सेल्सियस र न्यूनतम 12-14 डिग्री सेल्सियस लगभग पुग्ने सम्भावना छ।
यसैबीच बङ्गालको खाड़ीमा सक्रिय चक्रवात 'मुरासु'-लाई लिएर पनि मौसममाथि निगरानी राखिँदैछ। उपलब्ध पूर्वानुमान अनुसार यसले पश्चिम बङ्गालमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छैन। यद्यपि दक्षिण बङ्गालका केही भागहरूमा आंशिक बादल र छिटपुट वर्षाको सम्भावनालाई अस्वीकार गरिएको छैन।
समग्रमा भन्नपर्दा नोभेम्बरको पहिलो हप्तामा पश्चिम बङ्गालका अधिकांश जिल्लाहरूमा सुख्खा मौसम र रातको तापक्रममा क्रमिक ह्रासको सङ्केत देखिन्छ। यसले राज्यमा जाड़ो बढ़ाउने अपेक्षा गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा