
-घटनास्थल नजिकै मृतकको साइकल फेला परेको छ; जाँचमा जुट्यो पुलिस
दरङ्ग (असम), 4 नोभेम्बर (हि.स.)। असमको सिपाझार क्षेत्रस्थित जयन्तीपुरमा गए राती सनसनीपूर्ण हत्याको घटना प्रकाशमा आएको छ। जयन्तीपुरको बोरो चुबामा अज्ञात आक्रमणकारीहरूले धारिलो हतियारले प्रहार गरी एकजना व्यक्तिको निर्मम हत्या गरे। मृतकको पहिचान बिष्णुपुर निवासी रोज अलीको रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले रोज अलीलाई जयन्तीपुरको बोरो चुबामा रगताम्मे अवस्थामा फेला पारे। उनको साइकल जसलाई उनले आवागमनको लागि प्रयोग गर्थे, पनि घटनास्थल नजिकै भेटियो। घटनाको जानकारी फैलिएपछि सम्पूर्ण क्षेत्रमा खैलाबैला मच्चियो।
यो क्रूर हत्या कसले र किन गरेको हो, अहिलेसम्म स्पष्ट हुन सकेको छैन। सूचना पाए लगत्तै पुलिस घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा जुट्यो।
स्थानीयहरूको आरोप अनुसार उक्त ठाउँमा लामो समयदेखिकै अवैध देशी मदिराको अड्डा सञ्चालन हुँदै आएको छ। यद्यपि यो कथित अवैध मदिरा भण्डार एवं हत्याको घटनामाझ कुनै सम्बन्ध छ कि छैन, अहिलेसम्म पुष्टि हुन सकेको छैन।
मृतक रोज अली दुई सन्तानका पिता रहेको बताइएको छ। यस निर्मम हत्याले परिवारमा ठूलो बज्रपात भएको छ भने सम्पूर्ण क्षेत्रमा डर र शोकको वातावरण सृजना भएको छ। हत्याको सही कारण अनि संलग्न व्यक्तिहरूको बारेमा पुलिसको अनुसन्धानपछि मात्र थाहा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा