
गान्तोक, 05 नोभेम्बर (हि.स.)। राजधानीको बिकास क्षेत्रस्थित नेसाप भवनको प्रेक्षागृहमा आज अनेसास, सिक्किम च्याप्टरले वरिष्ठ पत्रकार एवम् प्रतिष्ठित साहित्यकार विजय बान्तवाको पूण्य स्मृतिमा शोक सभा आयोजना गर्यो। दिवङ्गत आत्माको मोक्ष प्राप्तिको कामना गर्दै एक मिनटको मौन प्रार्थनापछि आरम्भ भएको उक्त शोक सभाको अध्यक्षता सिक्किम च्याप्टरकी अध्यक्ष रत्न लक्सम सुब्बाले गरेकी थिइन्।
अनेसास केन्द्रिय कार्यसमितिका सदस्य डा. पारसमणि दङ्गालले स्वर्गीय विजय बान्तवालाई श्रद्धासुमन अर्पण गर्दै उनको योगदानलाई प्रकाश पारे। यसै क्रममा डा दङ्गालले विजय बान्तवा एकजना जुझारु पत्रकार थिए भन्दै उनको असमायिक निधनले नेपाली साहित्यिक तथा सिक्किमेली पत्रकार क्षेत्रमा अपूरणीय क्षति भएको बताए। उनले आफ्नो मन्तव्यपछि अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितिद्वारा पठाइएको शोक पत्र पनि पठन गरे।
शोक सभामा भारतीय गोर्खा परिसङ्घका अध्यक्ष एवम् अनेसास आजीवन सदस्य चुन्नी लाल घिमिरेले स्वर्गीय विजय बान्तवाका बहुमुखी व्यक्तित्वको सम्झना गर्दै सिक्किमेली पत्रकार जगत् तथा नेपाली भाषा-साहित्यको बिकासमा उनले पुर्याएको योगदानबारे आवगत गराए।
सिक्किम च्याप्टरकी अध्यक्ष सुब्बाले आफ्नो आध्यक्षीय सम्बोधनमा दिवङ्गत आत्मालाई श्रद्धाञ्जलि अर्पण गर्दै विजय बान्तवा आफ्ना योगदानहरूमा अमर रहने बताइन्। साथै, उनले यस दुःखद घडीको सामना गरिरहेका स्वर्गीय विजय बान्तवाका शोकसन्तप्त परिवारप्रति अनेसास सिक्किम च्याप्टरको तर्फबाट हार्दिक समवेदना व्यक्त गरिन्।
शोक सभामा अनेसास सिक्किम च्याप्टरका पदाधिकारीगण, सदस्यगण लगायत नेसापका अध्यक्ष हरि ढुङ्गेल, उपाध्यक्ष नीलम न्यौपाने, महासचिव भीम रावत, सिक्किमेली साहित्यकारहरू टीबी चन्द्र सुब्बा, एनपीएस निरौला, सुधा एम राई आदि उपस्थित थिए।
महासचिव डा कविता सुब्बाद्वार सञ्चालित उक्त सभा सिक्किम च्याप्टरकी कोषाध्यक्ष वीणा राईको धन्यवाद ज्ञापनपछि समाप्त गरिएको संस्थाकी सचिव विष्णु माया कटेलले विज्ञप्तिमा बताएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल