
गान्तोक, 05 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका परिषद् अध्यक्ष तथा महासचिवहरूको समन्वय सभा आज पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा मल्लीमा सम्पन्न भयो।
सम्पूर्ण परिषद्का अध्यक्ष तथा महासचिवहरूको उपस्थिति रहेको उक्त सभाको औचित्यमाथि प्रकाश पार्दै पार्टी अध्यक्ष गणेश राईले परिषद्का शीर्ष नेतृत्वले पार्टीको नीति, सिद्धान्त तथा कार्यक्रमका साथै वर्तमान सरकारको नियतबारे आम नागरिकलाई जानकारी गराउँदै जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने दायित्व रहेको बताए।
उनले वर्तमान राजनीतिक व्यवस्था यति नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै एउटा कन्टेन्ट क्रिएटरले समेत स्वेच्छाले आफ्नो विचार अभिव्यक्त गर्न नपाउने परिस्थिति सिर्जना भएको बताए। कुनै सामग्री प्रकाशन भएको भोलिपल्टै दबाउमा परेर भिडियो हटाउनुपर्ने र क्षमायाचना गरेको भिडियोसमेत बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
यस्तो शासन व्यवस्थाको अन्त्य गरी सिक्किम र सिक्किमेली जनतालाई न्याय दिलाउने प्रतिबद्धतासहित सीएपी सिक्किमका प्रत्येक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने उनले निर्देशन दिए। साथै, वर्तमान सरकारले प्रलोभन देखाएर पार्टीका नेताहरूलाई आफ्नो पक्षमा पार्दै पार्टी विभाजन गराउने असफल प्रयास गरिरहेको उनले आरोप लगाए।
राजनीतिमा इमानदारिताको अभावले वर्तमान मात्र नभई भविष्यमा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै अध्यक्ष राईले सीएपी सिक्किमले इमानदार राजनीतिक अभ्यास गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले पाँच दशकअघिसम्म सिक्किम र भुटान दुवै राजतन्त्रात्मक शासन व्यवस्थाअन्तर्गत रहेका र त्यसबेला सिक्किम भुटानभन्दा अगाडि रहेको स्मरण गराए। तर, गलत राजनीतिक अभ्यासका कारण आज सिक्किम भुटानभन्दा धेरै पछाडि परेको उनको भनाइ थियो।
सिक्किमलाई देशभित्रै अलग पहिचान, व्यवस्थित संरचना र समृद्धिसहितको राज्यका रूपमा स्थापित गर्ने स्वर्ण अवसर सीएपी सिक्किमको हातमा रहेको उल्लेख गर्दै उनले पार्टी संगठनलाई अझ सशक्त र व्यापक बनाउन सबैले थप सामर्थ्यका साथ काम गर्नुपर्नेमा जोड दिए।
पार्टी अध्यक्षको सम्बोधनपछि विभिन्न परिषद्का प्रतिनिधिहरूले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै परिषद्का भावी कार्ययोजना तथा रणनीतिबारे जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल