
गान्तोक, 05 नोभेम्बर (हि.स.)। गान्तोकको पाल्जोर स्टेडियममा आगामी 26 देखि 29 नोभेम्बरसम्म '5औं नर्थइस्ट भेटरन्स टेबल टेनिस च्याम्पियनशिप 2026' आयोजना हुने भएको छ। सिक्किम भेटरन्स टेबल टेनिस एसोसिएशनको तत्वावधानमा आयोजना गरिने यस प्रतियोगितामा सिक्किमलगायत पूर्वोत्तरका आठवटा राज्यहरूका प्रतिभागीहरूले भाग लिनेछन्।
प्रतियोगिता आयोजन समितिका अध्यक्ष सीएस सुब्बाले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आगामी 26 देखि 29 नोभेम्बरसम्म '5औं नर्थइस्ट भेटरन्स टेबल टेनिस च्याम्पियनशिप 2026' भव्यरूपमा आयोजना गरिने बताए। उनले प्रतियोगितामा सिक्किमलगायत पूर्वोत्तरका आठ राज्यहरूबाट प्रतिभागीहरू सहभागी बन्ने बताए। हालसम्म लगभग 200 जना सहभागी बन्ने तय भएको पनि उनले जानकारी गराए।
अध्यक्ष सुब्बाले यस प्रतियोगितालाई खेलमा मात्र सिमित नराखेर यस अवसरलाई पर्यटनसॅंग जोड्ने प्रयास पनि गरिएको अवगत गराए। उनले पूर्वोत्तरका अन्य राज्यहरूबाट आउने प्रतिभागीहरूलाई सिक्किमका विभिन्न रमणीय ठाउॅंहरू भ्रमणका लागि प्रोत्साहित गरिने बताए। यस अतिरिक्त, उनले मुख्यमन्त्री प्रेमसिंह तामाङ आयोजन समितिका प्रमुख संरक्षक तथा खेलमन्त्री राजु बस्नेत र पर्यटनमन्त्री टीटी भोटिया संरक्षक रहेको बताए।
संस्थाकी प्रचार सचिव केसाङ भोटियाले सिक्किममा पहिलो पटक यस किसिमको प्रतियोगिता आयोजना हुन लागिरहेको बताइन्। उनले प्रतियोगिता आयोजन गर्नुको मुख्य उद्देश्य वरिष्ठ नागरिकहरूलाई पनि खेलकुदप्रति प्रोत्साहित गर्नुका साथै पर्यटनलाई बढावा दिनु रहेको बताइन्।
यसैगरी, संस्थाका महासचिव विलियम तामाङले योग्य व्यक्तिहरूले यस प्रतियोगितामा भाग लिने सक्ने बताए।
हिन्दुस्थान समाचार / बिशाल