रक्षामन्त्री राजनाथ सिंहले शेरेथाङमा सैनिकहरूसँग मनाए दीपावली, जवानहरूको बलिदानको गरे स्मरण
रक्षामन्त्री राजनाथ सिंहले शेरेथाङमा सैनिकहरूसँग मनाए दीपावली


गान्तोक, 08 नोभेम्बर (हि.स.)। केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहले आइतबार दीपावलीको अवसरमा सिक्किमस्थित भारत-चीन सीमा क्षेत्र शेरेथाङको भ्रमण गरी त्यहाँ तैनाथ भारतीय सेनाका जवानहरूसँग दीपावली मनाए। यस अवसरमा उनले सैनिकहरूलाई सम्बोधन गर्दै देशको सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि जवानहरूले दिएको सर्वोच्च बलिदानको स्मरण गरे।

रक्षामन्त्री सिंहले भने, “आज हामी दीपावलीका दीप प्रज्वलन गर्न सकिरहेका छौँ भने त्यसको पछाडि हाम्रा वीर जवानहरूको सर्वोच्च बलिदान रहेको छ। उनीहरूले आफ्नो प्राणको आहुति दिएर देशको सुरक्षा र सार्वभौमिकताको रक्षा गरेका छन्। म सबै जवानका परिवारजनलाई पनि दीपावलीको शुभकामना दिन चाहन्छु।”

शेरेथाङको उच्च हिमाली क्षेत्रमा सैनिकहरूमाझ उपस्थित हुँदा आफूले विशेष ऊर्जा प्राप्त गरेको उल्लेख गर्दै उनले जवानहरूको अनुहारमा देखिने मुस्कान, उत्साह र साहस नै आफ्ना लागि दीपावलीको सबैभन्दा ठूलो प्रकाश रहेको बताए। उनले सैनिकहरूलाई एक-एक दीपको उज्यालोसँग तुलना गर्दै उनीहरूको योगदान सीमाका चौकीमा मात्र सीमित नरही देशका प्रत्येक घरसम्म पुगिरहेको बताए।

रक्षामन्त्रीले प्रविधि जतिसुकै विकसित भए पनि अनुशासन र साहसबिना त्यसको कुनै महत्त्व नरहने उल्लेख गरे। सैनिकहरूको अनुशासन, व्यवहार र स्थानीय बासिन्दाप्रतिको सम्मानले सेनाको पहिचान स्थापित गर्ने बताए। उनले शेरेथाङमा भारतीय सेनाप्रति स्थानीय जनताको रहेको स्नेह र विश्वासलाई कायम राख्नु सबैको जिम्मेवारी रहेको बताए।

उनले भने, “सेनाले धेरै हल्ला गर्दैन, तर आफ्नो उपस्थितिबाटै देशलाई सुरक्षा र भरोसाको अनुभूति गराउँछ। देशवासीले चाडपर्व मनाइरहेका बेला तपाईंहरू सीमामा सतर्क भएर खटिनुहुन्छ। तपाईंहरूकै कारण देशका नागरिक चैनको निद्रा सुत्न सक्छन् र दीपावलीका दीपहरू अझ उज्यालो देखिन्छन्।”

यस अवसरमा उनले शेरेथाङस्थित युद्ध स्मारकको पनि उल्लेख गर्दै यसले वीर सैनिकहरूको बहादुरी, शौर्य र पराक्रमलाई इतिहासमा अङ्कित गर्ने बताए। यहाँ शहीद भएका सैनिकहरू देशका विभिन्न राज्यबाट आएको उल्लेख गर्दै उनले उनीहरूले स्थानीय जनताको सुरक्षाका लागि आफ्नो प्राणको आहुति दिएको बताए।

उनले भने, “उनीहरू कहाँका थिए भन्ने कुरा महत्त्वपूर्ण होइन, उनीहरू भारत माताको सेवामा समर्पित थिए भन्ने कुरा महत्त्वपूर्ण हो। उनीहरूले यस्तो प्रेरणा भारतको संस्कारबाट प्राप्त गरेका हुन्, जहाँ जन्मिएका सबैलाई आफ्नो मानिन्छ र देशका लागि प्राणको आहुति दिन तत्पर रहिन्छ।”

रक्षामन्त्रीले राष्ट्रिय चेतना जागृत गर्न यस्ता स्मारकहरूको महत्त्वपूर्ण भूमिका रहने बताए। स्मारकहरू जीवित मानिसहरूलाई प्रेरणा दिन निर्माण गरिने उल्लेख गर्दै उनले शेरेथाङ युद्ध स्मारक पनि युवापुस्ता र भावी पुस्ताका लागि प्रेरणाको स्थल बन्ने विश्वास व्यक्त गरे। यस क्रममा उनले दिल्लीमा स्थापित राष्ट्रिय स्मारकको पनि स्मरण गरे।

अन्त्यमा उनले राष्ट्रिय सुरक्षाप्रति सैनिकहरूको समर्पणको प्रशंसा गर्दै सबैलाई सुख, शान्ति र समृद्धिपूर्ण दीपावलीको शुभकामना दिए। उनले ‘भारत माता की जय’ को उद्घोषसहित आफ्नो सम्बोधन समाप्त गरे।

उल्लेखनीय छ, केन्द्रिय रक्षामन्त्री राजनाथ सिंह आइतबार बिहान शेरेथाङ पुगेका थिए। यसअघि शनिबार उनले बागडोगरा तथा सिलगढीस्थित भारतीय सेनाका जवानहरूसँग भेटघाट गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande