
इम्फाल, 12 मार्च (हि.स.)। मणिपुरमा लागूऔषधविरुद्ध निरन्तर अभियान सञ्चालन भइरहेको छ। यसै क्रममा राज्यमा अफिम खेती नष्ट गर्नुका साथै ब्राउन सुगरसहित तीन जना तस्करलाई पुलिसले पक्राउ गरेको छ। साथै राज्यका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरी खोजतलास अभियान पनि निरन्तर सञ्चालन भइरहेको छ।
मणिपुर पुलिस मुख्यालयले बिहिबार जारी गरेको जानकारीअनुसार, बुधबार सुरक्षा बल र वन विभागले चुराचाँदपुर जिल्लाको संगाइकोट थाना अन्तर्गत हाओपी मोलेन क्षेत्रमा करिब छ ऐकरमा फैलिएको अवैध अफिम खेती नष्ट गरेका छन्। यद्यपि यस सम्बन्धमा कसैलाई पनि पक्राउ गर्न सकिएको छैन। जानकारीअनुसार, अफिम खेती पहाडी ढलान भएको क्षेत्रमा गरिएको थियो, जहाँ सामान्य मानिसको नजर पुग्न कठिन हुन्छ।
अर्को अभियानमा सुरक्षा बलहरूले तीन जनालाई पक्राउ गरेका छन्। उनीहरू सबै तेंगनौपाल जिल्लाका बासिन्दा हुन् र चंदेल जिल्लाको चाकपीकारोङ थाना क्षेत्रबाट ब्राउन सुगरसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा थाओङमिनथाङ (34), नेङबोई हाओकिप (48) र नेमनिकिम माटे (46) रहेका छन्।
तस्करहरूको साथबाट 58 वटा साबुनदानीमा भरिएको ब्राउन सुगर, तीन वटा मोबाइल फोन, एक भ्यान (एमएन-06एलएक्स-4037) तथा अन्य कागजात बरामद गरिएको छ।
मणिपुर पुलिसले जारी गरेको चेताउनीमा सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र झुटा भिडियोहरूबाट सावधान रहन आग्रह गरिएको छ। कुनै पनि आधारहीन भिडियो, अडियो क्लिप आदिको सत्यता केन्द्रिय नियन्त्रण कक्षको नम्बर 9233522822 मा सम्पर्क गरेर पुष्टि गर्न सकिने बताइएको छ। साथै सामाजिक सञ्जालमा धेरै नक्कली पोस्टहरू फैलिने सम्भावना रहेको पनि जनाइएको छ।
यससँगै पुलिसले चेताउनी दिँदै सामाजिक सञ्जालमा यस्ता नक्कली पोस्ट अपलोड वा प्रसारण गरेमा कानुनी कारबाही गरिने र त्यसका गम्भीर परिणाम हुन सक्ने जनाएको छ। साथै सर्वसाधारणलाई लुटिएका हतियार, गोला-बारुद र विस्फोटक पदार्थ तुरुन्तै पुलिस वा नजिकको सुरक्षा बललाई फिर्ता गर्न आग्रह गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी