
नयाँ दिल्ली, 12 मार्च (हि.स.)। पश्चिम एसियामा अमेरिका-इजरायल र इरानबीच जारी युद्धका कारण उत्पन्न ग्यास संकटलाई लिएर विपक्षी दलहरूले बिहिबार संसद भवन परिसरमा प्रदर्शन गरेका छन्।
यस विरोध प्रदर्शनमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, महासचिव केसी वेणुगोपाल, कांग्रेस नेतृ प्रियंका गान्धी, राजीव शुक्ला, समाजवादी पार्टीका राम गोपाल यादव, धर्मेन्द्र यादव लगायत 200 भन्दा बढी सांसद सहभागी भएका थिए।
विपक्षी सांसदहरूले हातमा ठूला-ठूला पोस्टर र ग्यास सिलिन्डरका कटआउट लिएर सरकारविरुद्ध नाराबाजी गरेका थिए। पोस्टरहरूमा सिलिन्डरका तस्वीरहरू थिए र तिनमा ग्यास संकटसँग सम्बन्धित मागहरू लेखिएका थिए। प्रदर्शनकारीहरूले युद्धका कारण ग्यास वितरण प्रभावित भएको र सर्वसाधारणले ठूलो समस्या भोग्नुपरेको बताएका थिए।
कांग्रेस महासचिव केसी वेणुगोपालले यस प्रदर्शनबारे जानकारी दिँदै ‘एक्स’ मा लेखेका छन्, भारतभर एलपीजी अभावका कारण लामो लाइन लागिरहेको छ। करोडौँ नागरिक खाद्य सुरक्षा संकटको सामना गरिरहेका छन्, साना-साना भोजनालय बन्द भइरहेका छन् र मानिसहरूमा व्यापक डर फैलिएको छ। उनले प्रधानमन्त्री पूर्ण रूपमा असहाय साबित भएको र उनको सरकार यो संकट समाधान गर्न असफल भएको आरोप लगाए। विपक्षी सांसदहरूले संसदमा प्रदर्शन गर्दै सरकारको अक्षमता उजागर गरेका र तत्काल समाधानको माग गरेका छन्।
यसैबीच संसदको बजेट अधिवेशनभरका लागि निष्कासित विपक्षका आठ सांसदहरूले पनि संसद भवन परिसरको मकर द्वारमा ग्यास संकटबारे विरोध प्रदर्शन गरेका छन्। यस प्रदर्शनमा लोकसभामा विपक्षका नेता राहुल गान्धी पनि सहभागी भए। सांसदहरू मकर द्वारको सिँढीमा ब्यानर र पोस्टर लिएर बसेका थिए। ती पोस्टरहरूमा ग्यास सिलिन्डरका तस्वीरहरू राखिएका थिए र “देशलाई ग्यास सिलिन्डर चाहिन्छ” जस्ता नाराहरू लेखिएका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी