
खरसाङ, 21 अप्रेल (हि.स.)। चुनाउ जितेर विधानसभामा पुगेको खण्डमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) की उम्मेदवार बन्दना राईले बन्द रहेको सय दिने रोजगारको काम एक सय दिनभित्रमा पुनः लागु गराउने दाबी गरेकी छन्। आईजीजेएफ उम्मेदवार राईले मंगलवार दिउँसो एक भिडियो जारी गर्दै यस्तो दाबी गरेकी छन्।
उनले सय दिने रोजगार अर्थात् मनरेगाको काम 2021 देखि बन्द रहेको र यसलाई सांसद राजु विष्टले रोकेर राखेको आरोप लगाएकी छन्। उनले भनिन्, 'यस कामले गरीब दु:खी र गाउँ घरका मानिसहरुका जीवनमा सहयोग हुन्थ्यो। धेरैको घर चलेको थियो। तर, सांसद राजु विष्ट र ममता सरकारले रोकेको छ। हाई कोर्ट र सुप्रीम कोर्टले सय दिने रोजगारलाई क्लिन चिट दिइसकेको छ। तर, ममता सरकार र सांसद राजु विष्टले रोकेको छ।'
जनताले आफुलाई भोट दिएर जिताएको खण्डमा सय दिने रोजगारको कामलाई एक सय दिनभित्रमा पुनः लागू गराउन काम गर्ने बताएकी छन्। राईले अघि भनिन्, 'सय दिने रोजगारको कामले गरीब दु:खीको बाटो बनिने, गाउँ घरमा बाटो बनिने, आमदामी पनि राम्रो हुॅंदै थियो। पहाडमा सय दिने रोजगारको काम महत्त्वपूर्ण छ।' उनले 2021 देखि सय दिने रोजगारको काम बन्द रहेकाले पाँच वर्षमा एक लाभार्थीलाई 1 लाख 13 हजार रुपियाँको नोक्सानी भएको बताइन्।
हिन्दुस्थान समाचार / हनोक