
गान्तोक, 27 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो व्यस्त कार्यक्रम, जिम्मेवारी र बैठकहरूका बावजुद पनि कोलकाताबाट सिक्किम आएकोमा हार्दिक कृतज्ञता प्रकट गरेका छन्। उनले प्रधानमन्त्रीको उपस्थितिले यो अवसरलाई साँच्चै विशेष बनाएको र राज्यको लागि यो एक आशीर्वाद समान रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री मोदीलाई आफ्ना व्यस्तताहरूबीच उपस्थितिका लागि हार्दिक धन्यवाद दिएका छन्। यसैगरी, उनले बिहानदेखि सिक्किमका विभिन्न भागहरूबाट प्रधानमन्त्रीलाई न्यानो स्वागत गर्न भेला भएका सबै नागरिकहरूलाई पनि हार्दिक धन्यवाद दिएका छन्। उनले सिक्किम क्रान्तिकारी मोर्चा र भारतीय जनता पार्टीका कार्यकर्ताहरू लगायत सबै फ्रण्टल अर्गनाइजेशनहरूप्रति पनि हार्दिक आभार प्रकट गरेका छन्।
यस क्रममा उनले विधानसभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, राजनीतिक सचिवहरू, सिक्किम सरकारका सबै गणमान्य व्यक्तिहरू, संघ संस्थाहरूलाई पनि धन्यवाद दिएका छन्। मुख्यमन्त्रीले लामा, झॉंक्री, पण्डित र विभिन्न आध्यात्मिक संस्थाका प्रतिनिधिहरूलाई पनि विशेष धन्यवाद दिएका छन्।
उनले भोलि, 28 अप्रेल, 2026 मा पाल्जोर स्टेडियममा हुने कार्यक्रममा पनि उपस्थित भएर एकताको यो भावनालाई निरन्तरता दिन हार्दिक निमन्त्रणा दिएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन सुन्नलाई अझ धेरै संख्यामा बिहान 8 बजीसम्ममा उपस्थिति भइदिन र यो अवसरलाई वास्तवमा भव्य एवं अविस्मरणीय बनाउन आह्वान गरेका छन्।
स्मरण रहोस्, प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय भ्रमणमा आज सिक्किम आइपुगेका छन्। प्रधानमन्त्री आज देवरालीदेखि लोकभवनसम्म आयोजित एक रोड शोमा सहभागी बने। भोलि उनी पाल्जोर स्टेडियममा आयोजना हुने सिक्किम राज्य स्थापनाको 50औं वार्षिकोत्सव समारोहको समापन समारोहमा सहभागी बन्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल