पहिलो वैशाखमा सांस्कृतिक शोभायात्रासहित सम्वर्द्धना कार्यक्रम आयोजना गरिने
पहिलो वैशाखमा सांस्कृतिक शोभायात्रासहित सम्वर्ध्दना कार्यक्रम आयोजना गरिने


खरसाङ, 08 अप्रेल (हि.स.)। गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा यसपाली पहिलो वैशाख कार्यक्रम जातीय सांस्कृतिक झाँकीहरु र सांस्कृतिक शोभायात्राको साथमा गरिने भएको छ। उक्त सांस्कृतिक शोभायात्रा कार्यक्रम संस्थानको कार्यालय चिन्तन भवन नजिक खरसाङको आईएनए बस टर्मिनलदेखि शुरु हुनेछ।

गोर्खा सांस्कृतिक संस्थान् खरसाङका पदाधिकारीहरुले आज एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। संस्थानकी अध्यक्षा आशा मुखिया लामाले भनिन्, सांस्कृतिक शोभायात्रा पहिला खरसाङको रेलवे स्टेशनबाट शुरु हुने भनिएको भए पनि अब खरसाङको बस टर्मिनलदेखि शुरु गरिने भएको छ। शोभायात्रा बस टर्मिनलदेखि खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर विभिन्न सांस्कृतिक एवं सम्वर्द्धना कार्यक्रममा परिणत हुनेछ।

उनले नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आगामी 14 अप्रेल अर्थात् पहिलो वैशाखको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरुसितै पहिलो वैशाख कार्यक्रम आयोजना गरिने बताइन्। उक्त कार्यक्रममा यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट मुर्जुङ्गा र बिनायकवादक एवं जातीय सांस्कृतिक अभियन्ता पद्मश्री प्रापक सिक्किमका नरेश गुरुङ, जातीयवादक सारङ्गीवादक प्रेम गन्धर्वलाई सम्बर्द्धना जनाइने छ। गोर्खा सांस्कृतिक संस्थान् खरसाङको लागि लामो समयदेखि योगदान दिॅंदै आएका वरिष्ठ सदस्यहरुलाई पनि सम्मान गरिने उनले बताएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande