
गान्तोक, 03 मई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबै पत्रकार, मिडियाकर्मी र अभिव्यक्ति स्वतन्त्रताको भावनालाई कायम राख्ने नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
सीएपीले आज जारी एक प्रेस बयानमा भनेको छ, यो दिनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेस कुनै पनि जीवन्त लोकतन्त्रको आधारशिला हो भन्ने स्मरण गराउॅंछ । प्रेसले पारदर्शिता सुनिश्चित गर्दछ, शक्तिलाई जवाफदेही बनाउँछ र जनतालाई, विशेष गरी ती व्यक्तिहरूलाई आवाज दिन्छ जो अन्यथा नसुनिएका हुन सक्छन्।
सीएपीले सिक्किमको लागि प्रेस स्वतन्त्रताको गहिरो अर्थ रहेको बताउॅंदै राज्यको प्रगति खुल्ला संवाद, सत्यवादी रिपोर्टिङ र प्रश्न गर्ने साहसमा निर्भर गर्दछ भनी उल्लेख गरेको छ। सीएपीले भनेको छ, बलियो र निडर मिडियाले जनताको विश्वासलाई बलियो बनाउँछ, हाम्रो लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्छ, र समावेशी विकासमा योगदान पुर्याउँछ।
सीएपीले आफ्नो सन्देशमा प्रेस स्वतन्त्रताको रक्षा गर्न र पत्रकारहरूले डर वा दबाउ बिना काम गर्न सक्ने वातावरणलाई समर्थन गर्ने प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। सीएपीले सिक्किममा सत्यको विजय, आवाज स्वतन्त्र रहोस् र लोकतन्त्र फस्टाउन जारी रहोस् भन्ने सुनिश्चित गर्न सबैलाई एकसाथ उभिन आह्वान पनि गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल