
गान्तोक, 03 मई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सिक्किम र विश्वभरका पत्रकार र मिडिया कर्मीहरूप्रति हार्दिक सम्मान एवं ऐक्यबद्धता व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा भनेका छन्, 'एक स्वतन्त्र र निष्पक्ष प्रेस कुनै पनि स्वस्थ लोकतन्त्रको आधारशिला हो। यसले नसुनिएकाहरूलाई आवाज दिन्छ, शक्तिलाई जवाफदेही बनाउँछ, मौनता र दमनमाथि सत्यको विजय सुनिश्चित गर्दछ।'
प्रेस स्वतन्त्रतामाथि चिन्ता व्यक्त गर्दै उनले भने, 'हामीले असहज वास्तविकताहरूको पनि सामना गर्नुपर्छ। भारतमा प्रेस स्वतन्त्रता सम्बन्धी चिन्ताहरू निरन्तर बढिरहेका छन्। बढ्दो राजनीतिक दबाउ, स्व-सेन्सरशिप र स्वतन्त्र पत्रकारिताको लागि साँघुरिँदै गएको ठाउँले हाम्रा लोकतान्त्रिक संस्थाहरूको स्वास्थ्यको बारेमा गम्भीर प्रश्नहरू उठाउँछ।' उनले सिक्किममा नागरिकहरू, पत्रकारहरू र संस्थाहरू खुलेर बोल्न नसक्ने अवस्था रहेको आरोप पनि लगाएका छन्।
एसडीएफ अध्यक्षले कृत्रिम बुद्धिमत्ताको उदय र यसका चुनौतीहरूको बारेमा पनि सचेत गराएका छन्। उनले एसडीएफ कार्यकालमा मिडिया स्वतन्त्रतालाई कायम राख्न र संरक्षण गर्न सचेत प्रयास गरिएको दाबी गरेका छन्। उनले अभिव्यक्तिको स्वतन्त्रताको रक्षा गर्ने र पत्रकारिताको गरिमालाई कायम राख्ने आफ्नो सामूहिक संकल्प दोहोऱ्याउन आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल