
गान्तोक, 30 मई (हि.स.)। उत्तर सिक्किमको लाचेनसम्मको यातायात सम्पर्क पुनःस्थापनाका लागि गठन गरिएको उच्चस्तरीय समितिको पहिलो बैठक आज गान्तोकस्थित राज्य आपदा प्रबन्धन प्राधिकरणको सम्मेलन कक्षमा सम्पन्न भयो। बैठकको अध्यक्षता भूमि राजस्व तथा आपदा प्रबन्धन विभागका राज्य राहत आयुक्त एवं सचिव रिन्जिङ छेवाङ भोटियाले गरेको थियो।
भूमि राजस्व तथा आपदा प्रबन्धन विभागका अनुसार, बैठकमा समितिका सदस्यहरू, खानी तथा भूगर्भ विभागकी सचिव डिकी याङजोम, सडक तथा पुल विभागका सचिव बीबी सुब्बा, भूमि राजस्व तथा आपदा प्रबन्धन विभागका विशेष सचिव हेम कुमार छेत्री, लाचेनका पिपन बान्धु लाचेन्पा तथा सीमा सडक संगठन अन्तर्गत 129 आरसीसीका कमाण्डिङ अफिसर मेजर जसदीप सिंह सहभागी थिए। बैठकमा मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैनलगायत अन्यहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
बैठकमा ताराम छु क्षेत्रमा सडक सम्पर्क अवरुद्ध भएको वर्तमान अवस्थाको समीक्षा गरियो तथा यातायात पुनःस्थापनाका लागि भइरहेका प्रयासहरूमाथि विस्तृत छलफल गरियो। प्रभावित क्षेत्रमा सुरक्षित र दिगो पहुँच सुनिश्चित गर्न आवश्यक तत्कालीन, मध्यमकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि विस्तृत विचार-विमर्श गरियो।
विस्तृत छलफलपछि समितिले आगामी २ जून, २०२६ मा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको छ, जसबाट वास्तविक अवस्था मूल्याङ्कन गरी सम्पर्क पुनःस्थापनाका सम्भावित विकल्पहरूको अध्ययन गरिनेछ।
सडक तथा पुल विभागलाई नदी करिडोर हुँदै वैकल्पिक सडक मार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत प्रस्ताव पेश गर्न निर्देशन दिइएको छ। त्यसैगरी खानी तथा भूगर्भ विभागलाई प्रारम्भिक भू-वैज्ञानिक मूल्याङ्कन गर्न तथा दीर्घकालीन समाधानका रूपमा सुरुङ निर्माणको सम्भाव्यता अध्ययनका लागि भू-प्राविधिक अनुसन्धानसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया प्रारम्भ गर्न निर्देशन दिइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल