
गान्तोक, 30 मई (हि.स.)। सिक्किम प्रदूषण नियन्त्रण बोर्ड (एसपीसीबी) ले शहरी स्थानीय निकाय (यूएलबी) का अधिकारीहरू तथा सिक्किम पुलिससँगको समन्वयमा २८ मई, २०२६ मा गान्तोक, मङ्गन, नाम्ची, नयाँबजार-जोरेथाङ, रम्फू, सिङ्ताम र गेजिङ नगर क्षेत्रहरूमा एकल प्रयोग हुने प्लास्टिक (एसयूपी) माथिको प्रतिबन्ध कार्यान्वयन सुनिश्चित गर्न संयुक्त निरीक्षण अभियान सञ्चालन गरेको छ।
प्रतिबन्धित एसयूपी वस्तुहरूमा प्लास्टिक डण्डी भएका इयर बड, बेलुन स्टिक, प्लास्टिक झण्डा, क्यान्डी स्टिक, आइसक्रिम स्टिक, सजावटका लागि प्रयोग हुने पोलिस्टाइरिन (थर्माकोल), प्लेट, कप, गिलास, कटलरी (फोर्क, चम्चा, चक्कु), स्ट्र, ट्रे, मिठाईका बक्स, निमन्त्रणा पत्र तथा चुरोटका प्याकेटमा प्रयोग हुने प्लास्टिक र्यापिङ वा प्याकिङ फिल्म, १०० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक वा पीवीसी ब्यानर आदि पर्दछन्।
निरीक्षण अभियानका क्रममा स्थानीय पसलहरू तथा व्यावसायिक प्रतिष्ठानहरूमा प्लास्टिक फोहोर प्रबन्धन नियम, 2016 को पालना भइरहेको छ वा छैन भन्ने विषयमा अनुगमन गरिएको थियो। साथै, स्थानीय व्यापारी तथा विक्रेताहरूलाई उक्त नियमहरू र हाल कानुनद्वारा निषेधित वस्तुहरूबारे संक्षिप्त सचेतना पनि प्रदान गरिएको थियो।
अभियानका क्रममा जम्मा ३.७ किलोग्राम प्रतिबन्धित एसयूपी सामग्री जफत गरिएको छ भने नियम उल्लङ्घन गर्नेहरूबाट रु. २,५०० जरिवाना असुल गरिएको छ।
एसपीसीबी, सिक्किमले राज्यलाई प्लास्टिकमुक्त बनाउन तथा प्रतिबन्धित एकल प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरूको प्रयोग निरुत्साहित गर्न आम नागरिक, खुद्रा व्यापारी, वितरक तथा व्यवसायीहरूको सहयोगको अपेक्षा गरेको छ।
यस्ता कार्यान्वयन तथा अनुगमन अभियानहरू प्रत्येक महिनामा चार-चार दिनको अन्तरालमा नियमित रूपमा सञ्चालन गरिने एपीसीबी सिक्किमले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल