
गान्तोक, 19 जुलाई (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज संसदको मनसुन अधिवेशनअघि आयोजित सर्वदलीय बैठकमा सहभागी हुँदै लोकसभामा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को प्रतिनिधित्व गरे। बैठकको अध्यक्षता रक्षा मन्त्री राजनाथ सिंहले गरेको थियो।
बैठकमा सांसद सुब्बाले केन्द्र सरकारसमक्ष हिमाली क्षेत्र, सीमावर्ती राज्यहरू, पछौटे समुदायका विद्यार्थी तथा जोखिममा रहेका कृषक परिवारसँग सम्बन्धित महत्वपूर्ण मुद्दाहरूलाई मनसुन अधिवेशनमा प्राथमिकता दिन आग्रह गरे। उनले अन्य पछौटे वर्ग (ओबीसी) का विद्यार्थीहरूको छात्रवृत्ति रकम वृद्धि गर्नुपर्ने माग राख्दै वर्तमान छात्रवृत्ति उच्च शिक्षाको बढ्दो खर्चअनुसार पर्याप्त नभएको बताए। आर्थिक रूपमा कमजोर तर योग्य विद्यार्थीहरूले आर्थिक अभावका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति संरचनाको पुनरावलोकन गर्न उनले आग्रह गरे।
उनले हिमाली क्षेत्रमा बढ्दो आकस्मिक बाढी, पैह्रो, हिमनदीसम्बन्धी जोखिम तथा जलवायु परिवर्तनबाट उत्पन्न आपदाप्रति ध्यानाकर्षण गराउँदै हिमाली क्षेत्रका लागि आपदा न्यूनीकरण र जलवायु सहनशीलताको व्यापक राष्ट्रिय रणनीति तयार गर्नुपर्ने आवश्यकतामा जोड दिए। यसैगरी, डा. सुब्बाले निर्वाचन क्षेत्र पुनःनिर्धारण (डिलिमिटेसन) अघि जन प्रतिनिधि अधिनियमका प्रावधानहरूको पुनरावलोकन गर्न आग्रह गरे, ताकि कुनै पनि अनुसूचित जनजाति (एसटी) वा अनुसूचित जाति (एससी) समुदाय आफ्नो संवैधानिक राजनीतिक प्रतिनिधित्व तथा आरक्षणको अधिकारबाट वञ्चित नहोस्।
उनले हिमाली क्षेत्रमा दिगो, भरपर्दो र जलवायु-सहनशील पूर्वाधार तथा यातायात सञ्जाल सुदृढ़ गर्नुपर्ने आवश्यकता औँल्याउँदै विशेष गरी भारत-नेपाल सीमाक्षेत्रमा रणनीतिक सडक पूर्वाधारको तीव्र विकास गर्न सरकारलाई आग्रह गरे। यसले आपदा प्रबन्धन, सीमा सुरक्षा तथा सन्तुलित क्षेत्रीय विकासलाई थप सुदृढ़ बनाउने उनको भनाई थियो।
यस अतिरिक्त, उनले मानव-वन्यजन्तु संघर्षका बढ्दो घटनाप्रति चिन्ता व्यक्त गर्दै यस विषयमा पनि संसदमा विस्तृत छलफल गर्नुपर्ने आवश्यकतामा जोड दिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल