पाकिममा ८०औँ स्वतन्त्रता दिवस समारोहको तयारीबारे जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न
स्वतन्त्रता दिवसलाई लिएर आयोजित बैठकमा मन्त्री र विधायक।


पाकिम, 19 जुलाई (हि.स.)। आगामी ८०औँ स्वतन्त्रता दिवस २०२६ तथा ओपन नकआउट फुटबल प्रतियोगिता २०२६ को सफल आयोजनाका लागि आज पाकिम सामुदायिक भवनमा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भयो। बैठकको अध्यक्षता कृषि, बागवानी तथा पशुपालन मन्त्री पुरण कुमार गुरुङले गरेको थियो। कार्यक्रममा शिक्षा, खेलकुद तथा युवा मामिला मन्त्री राजु बस्नेत, विधायक पामिन लेप्चा, जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हामु भोटिया तथा पाकिमकी जिल्लापाल परी बिश्नोई लगायत विभिन्न सरकारी विभागका प्रतिनिधिहरू उपस्थित थिए।

बैठकको उद्देश्य ८०औँ स्वतन्त्रता दिवस समारोहअन्तर्गत आयोजना हुने ओपन नकआउट फुटबल प्रतियोगिताको सफल सञ्चालनका लागि फुटबल आयोजक समिति र पाकिम जिल्लाअन्तर्गत विभिन्न सरकारी विभागबीच आवश्यक समन्वय सुनिश्चित गर्नु थियो।

मन्त्री गुरुङले ८०औँ स्वतन्त्रता दिवस जिल्ला स्तरीय कार्यक्रम भएकाले सबै विभाग तथा सरोकारवालाबीच प्रभावकारी समन्वय गरी भव्य र व्यवस्थित रूपमा मनाउनुपर्नेमा जोड दिए। उनले फुटबल प्रतियोगिताको व्यवस्थापन तथा नगद पुरस्कारका लागि प्रायोजन सम्बन्धी विषयमा पनि आफ्ना सुझाउ प्रस्तुत गरे।

मन्त्री बस्नेतले कार्यक्रम सफल बनाउन सबै विभाग र समितिबीच एकता तथा सहकार्य आवश्यक रहेको बताए। उनले शिक्षा विभागको निर्देशनअनुसार स्वतन्त्रता दिवस कार्यक्रममा विद्यार्थीहरूको अभ्यास अधिकतम सात दिनसम्म मात्र सीमित राख्नुपर्ने उल्लेख गर्दै सांस्कृतिक कार्यक्रमहरूको संख्या सन्तुलित र सीमित राख्न सुझाउ दिए, ताकि विद्यार्थीहरूको पढाईमा असर नपरोस्। उनले हरेक वर्ष सफलतापूर्वक कार्यक्रम आयोजना गर्दै आएको आयोजक समितिको प्रशंसा गर्दै फुटबल प्रतियोगिताको प्रभावकारी सञ्चालनका लागि पनि सुझाउ दिए।

विधायक लेप्चाले फुटबल प्रतियोगिता पाकिम जिल्लाको पहिचान बनेको उल्लेख गर्दै स्वतन्त्रता दिवसलाई भव्य र अर्थपूर्ण रूपमा मनाउनुपर्ने बताइन्। उनले कार्यक्रमको वित्तीय व्यवस्थापन र सञ्चालनबारे सुझाउ दिँदै जिल्लाका तीन जातीय समुदायका सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने तथा विद्यार्थीहरूको कक्षाकोठा र अध्ययनमा कुनै असर नपर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।

जिल्लापाल बिश्नोईले समारोहस्थलको तयारी, सुरक्षा, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा, खानेपानी, विद्युत्, सरसफाई, यातायात तथा अन्य आवश्यक व्यवस्थापनसम्बन्धी विभागीय जिम्मेवारीबारे यसअघि नै विस्तृत छलफल भइसकेको जानकारी दिइन्। उनले कार्यक्रमको सफल सञ्चालनका लागि अन्तरविभागीय समन्वय अत्यन्त आवश्यक रहेको बताइन्।

बैठकमा यस वर्षको समारोहअन्तर्गत १४ वर्षमुनिका (अन्डर १४) छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरिएको छ। साथै, ८०औँ स्वतन्त्रता दिवस २०२६ को अवसरमा आयोजना हुने ओपन नकआउट फुटबल प्रतियोगिताको उद्घाटन १ अगस्त, २०२६ मा हुने जानकारी पनि दिइयो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande