
राभाङला, 19 जुलाई (हि.स.)। चलचित्रकर्मी, कलाकार तथा साहित्यकार हरि ढुङ्गेल हिमालयन अन्तरराष्ट्रिय अवार्ड 2026 मा लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा पुरस्कृत भएका छन्। नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष पनि रहेका ढुङ्गेललाई दीर्घकालिन सेवाको निम्ति प्रदान गरिएको हो।
दक्षिण सिक्किमको राभाङलास्थित सामुदायिक भवनमा आइतवार नेपाल तथा सिक्किमका कलाकार, गीतकार तथा लेखकहरूको समागममा आयोजित पुरस्कार वितरण समारोहमा ढुङ्गेललाई पुरस्कृत गरिएको हो। कलाकार ढुङ्गेलले लामो समयदेखि चलचित्र, नाट्य एवम् साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउँदै आइरहेको छ। चार दशकसम्म यस क्षेत्रमा उनले दिएको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको हो।
समारोहमा समाजसेवी टाशी ग्याल्पो भोटिया मुख्य अतिथि र क्षेत्र विधायक रिक्सल दोर्जी भोटिया विशिष्ट अतिथि थिए।
आफ्नो छोटो सम्बोधनमा कलाकार ढुङ्गेलले यसरी अन्तरराष्ट्रिय स्तरको कार्यक्रममा आफूले दिएको योगदानको सम्मान हुँदा भावुक बनेको मन्तव्य गरे। उनले कला तथा साहित्य क्षेत्रमा यो ठाउँसम्म आइपुग्नमा सहयोग गर्ने आफ्ना परिवारलाई सम्झना गरे।
आफूले भाषा साहित्य , सङ्गीत र कलाको क्षेत्रमा अझै कार्य गर्नको निम्ति उर्जा बटुलिरहेको तथा प्रतिबद्ध रहेको बेला यसरी लाइफटाइम एचिभमेन्ट अवार्डले पुरस्कृत गर्दा थप उर्जा मिलेको बताए। उनलाई यस अघि पनि गीत लेखन र कलाको निम्ति मुम्बाई पुरस्कृति गरिएको छ भने आफ्नै ठाउँमा अन्तरराष्ट्रिय पुरस्कारले सम्मानित गर्दा आफूलाई निक्कै भावुक बनाएको मात्र होइन तर काम गर्ने उत्साह दोब्बर भएको बताए।
उनले 1976 देखि नै गीत लेखनमा योगदान दिदैँ आएका हुन्। उनले पहिलो गीतको पनि सम्झना मिडियाकर्मीहरूसित आफ्नो खुसी साझा गर्दै बताए।
यसैगरि कार्यक्रममा नेपालको तर्फबाट अमर बान्तुलाई पनि लाइफटाइम एचिभमेन्ट अवार्डले कला सङ्गीतमा योगदानको निम्ति पुरस्कृत गरिएको थियो।
अर्कोतिर सिक्किमका साहित्यिक व्यक्तित्व तथा गीतकार विमल काफ्लेलाई वर्षको उत्कृष्ट गीतकार पुरस्कारले पुरस्कृत गरिएको छ। चलचित्र निर्माता सुष्मा गुरुङ, साहित्यकार अमर बानियाँ लोहोरो, साहित्यकार फुर्बा खाण्डु, रिङ्की ल्ह्मु लेप्चा, पेम नोर्बु शेर्पा लगायत लगभग दुइ दर्जन साहित्य, सङ्गीत र कलाधर्मीलाई सम्मान गरिएको छ। नेपाल तर्फबाट भेला भएका विभिन्न चर्चित कलाकारहरूलाई पनि आयोजक समितिले सम्मान प्रदान गरेको थियो।
कार्यक्रममा सिक्किमका कवि फुर्बा खाण्डु शेर्पाको नयाँ कविता सङ्ग्रह देउराली भञ्जाङको विधिवत लोकार्पण गरियो। कार्यक्रममा नेपाल र भारतका कलाकारहरूले साङ्गीतिक प्रस्तुती तथा नाच प्रस्तुत गरेका थिए।
कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त राजनैतिक सचिव विष्णु शर्मा, स्थानीय जनप्रतिनिधिगण, साहित्य कलाधर्मी एवम् आम नागरिकको बाक्लै उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त नेपाल र सिक्किमका चर्चित कलाकारहरूको साङ्गीतिक साँझसितै भएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल