
जम्मू, २० जुलाई (हि.स.)। जम्मू सम्भागका पुन्छ र राजौरी जिल्लामा आइतवार आएको आकस्मिक बाढ़ी र पहिरोका कारण आठ जनाको मृत्यु भएको छ भने लगभग १२ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य लगातार दोस्रो दिन पनि जारी रहेको छ। भारी वर्षा र प्रतिकूल मौसमका कारण आज पनि श्री अमरनाथ यात्रा र माता वैष्णोदेवी यात्रा दोस्रो दिनका लागि स्थगित गरिएको छ।
बाढ़ीका कारण घर, सार्वजनिक पूर्वाधार, पशुधन तथा कृषि भूमिमा ठूलो क्षति पुगेको छ। पुन्छ जिल्ला सबैभन्दा बढ़ी प्रभावित भएको छ भने छिमेकी जिल्ला राजौरीमा पनि व्यापक क्षति भएको छ।
अधिकारीहरूका अनुसार बाढीका कारण जम्मू सम्भागभर १४५ वटा आवासीय घरमा क्षति पुगेको छ। तीमध्ये ९३ वटा घर पुन्छमा, ४२ वटा राजौरीमा, आठ वटा रियासीमा तथा एक–एक वटा घर किश्तवाड र रामबनमा क्षतिग्रस्त भएका छन्। पुन्छमा १७ वटा विद्यालय, २४ वटा परम्परागत पानीघट्टा (पनचक्की) र तीन वटा पसलमा पनि क्षति पुगेको छ। साथै धेरै क्षेत्रमा बीएसएनएल र एयरटेलका मोबाइल सेवा अवरुद्ध भएका छन्।
राजौरीमा पनि ठूलो विनाश भएको छ, जहाँ बेला बस स्ट्यान्ड र चिल्ड्रेन्स पार्कको लगभग ९० प्रतिशत भाग बाढ़ीले बगाएको छ। एक विद्यालय र ५६ वटा सवारीसाधनमा क्षति पुगेको छ भने लगभग ३०० घरमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ।
किश्तवाड़ जिल्लाको छत्रु तहसील स्थित बटवान खोलामा आएको आकस्मिक बाढ़ीका कारण एक जामा मस्जिद, एक मदरसा भवन र एक पसलमा आंशिक क्षति पुगेको छ। कूल १२७ कनाल कृषि भूमि प्रभावित भएको छ, जसमध्ये ९२ कनाल पुन्छमा र ३५ कनाल राजौरीमा रहेको छ।
एसडीआरएफ, पुलिस, नागरिक प्रशासन तथा अन्य निकायका उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्। साथै क्षतिको मूल्याङ्कन गर्दै आवश्यक सेवाहरू पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। चेनानी–नाशरी सुरुङको उत्तरी प्रवेशद्वार नजिक पहिरो खस्दा राष्ट्रिय राजमार्गको एक सुरुङ अवरुद्ध भएको छ। भारी वर्षाका कारण चोबु नालामा आएको आकस्मिक बाढ़ी र पहिरोले उधमपुर–पञ्चेरी तथा कैन्थगली–मौंगरी सड़कहरू पनि बन्द भएका छन्।
उपराज्यपालले बाढ़ी प्रभावित जिल्लाको अवस्थामाथि निरन्तर निगरानी गरिरहेका छन् र उद्धार कार्यलाई युद्धस्तरमा सञ्चालन गर्न निर्देश दिएका छन्। खराब मौसमलाई ध्यानमा राख्दै सावधानी स्वरूप अमरनाथ यात्रा तथा माता वैष्णोदेवी यात्रा आज पनि स्थगित गरिएको छ।
मुख्यमन्त्री उमर अब्दुल्लाले प्रशासनलाई पूर्ण सतर्क रहन तथा उद्धार, राहत र पुनर्स्थापना कार्यलाई तीव्र बनाउन निर्देश दिएका छन्। मन्त्रीहरूले आजदेखि प्रभावित जिल्लाहरूको भ्रमण शुरु गर्नसक्ने जनाइएको छ।
मौसम विज्ञान विभागले जुलाई २३ सम्म रियासी, उधमपुर, रामबन, जम्मू, कठुवा र साम्बालगायतका जिल्लामा तथा डोडा, किश्तवाड, राजौरी र पुन्छका केही क्षेत्रमा भारी वर्षा, आकस्मिक बाढ़ी र पहिरोको सम्भावना रहेको चेतावनी जारी गरेको छ।
/ बिशाल