
नयाँ दिल्ली, २० जुलाई (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले सोमवारदेखि शुरु हुन लागेको १८औँ लोकसभाको आठौँ (मनसुन) सत्र सफलतापूर्वक सञ्चालन गर्न सबै सांसदहरूलाई सकारात्मक सहयोग र रचनात्मक सहभागिताका लागि अपील गरेका छन्। उनले भने, “संसद लोकतन्त्रको सर्वोच्च मन्दिर हो र यो सत्र जनहित तथा राष्ट्रहितसँग सम्बन्धित विषयहरूमा सार्थक छलफल र प्रभावकारी विधायी कारबाहीका लागि महत्त्वपूर्ण अवसर हो।”
बिरलाले सबै सदस्यहरूले संविधानको भावना, संसदीय परम्परा तथा मर्यादाको सम्मान गर्दै सदनको कारबाहीमा सक्रिय सहभागिता जनाउने विश्वास व्यक्त गरे। उल्लेखनीय छ कि आइतवार साँझ संसद परिसरमा लोकसभाको कार्य मन्त्रणा समितिको बैठक सम्पन्न भएको थियो। आज बिहान अध्यक्ष बिरलाले उक्त बैठकको तस्वीर सामाजिक सञ्जाल एक्समा साझा गर्दै यो अपील गरेका हुन्।
मनसुन सत्रको शुरुआतका अवसरमा जारी सन्देशमा लोकसभा अध्यक्षले दिल्लीमा भएको वर्षाले वातावरणमा नयाँ ऊर्जा र ताजगी भरेको बताएका छन्। उनले संसद देशका जनआकांक्षा, आशा र विश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गर्दै सबै जनप्रतिनिधिहरूलाई स्वागत गर्न संसद तयार रहेको बताए।
अध्यक्ष बिरलाले अधिकतम विधायी तथा अन्य संसदीय कार्य सम्पन्न गर्नु सबै सदस्यहरूको सामूहिक जिम्मेवारी भएको बताए। यसबाट जनविश्वास अझ् मजबुत हुने र लोकतान्त्रिक संस्थाहरूको गरिमा पनि बढ्ने उनको भनाइ थियो। उनले सबै सांसदहरूलाई यो अधिवेशनलाई सार्थक बहस, जनहितकारी निर्णय तथा संसदीय मर्यादा अनुरूप सञ्चालन गर्न मिलेर प्रयास गर्न आह्वान गरे।
हिन्दुस्थान समाचार / भवानी थामी