त्रिपुराका डीजीपी अनुराग धनखड़को संदिग्ध अवस्थामा मृत्यु, अनुसन्धान शुरु
त्रिपुरा के डीजीपी अनुराग धनखड़। फाइल फोटो


अगरतला, २० जुलाई (हि.स.)। त्रिपुराका पुलिस महानिदेशक (डीजीपी) अनुराग धनखड़को सोमवार बिहान संदिग्ध परिस्थितिमा मृत्यु भएको छ। उनको शव अगरतला स्थित राज्य पुलिस मुख्यालयमा रहेको कार्यालय कक्षबाट फेला परेको छ। पुलिसले प्रारम्भिक रूपमा घटनालाई आत्महत्याको आशंकासँग जोड़ेर अनुसन्धान गरिरहेको भएपनि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने जनाएको छ।

पुलिसबाट प्राप्त जानकारीअनुसार, सोमवार बिहान ड्युटीमा रहेका पुलिस कर्मीहरूले नियमित निरीक्षणका क्रममा डीजीपी अनुराग धनखड़लाई आफ्नै कार्यालय कक्षमा झुन्डिएको अवस्थामा फेला पारे। त्यसको जानकारी तत्काल वरिष्ठ अधिकारीहरूलाई दिइयो, जसपछि पुलिस मुख्यालयमा कोकोहोलो मच्चियो।

सूचना प्राप्त हुनासाथ प्रशासनिक मजिस्ट्रेट, फरेन्सिक टोली तथा पुलिसका वरिष्ठ अधिकारीहरू घटनास्थल पुगे। कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि अगरतलास्थित गोविन्द बल्लभ पन्त (जीबीपी) अस्पताल पठाइएको छ।

पुलिसले घटनाको अनुसन्धान शुरु गरिसकेको छ। अधिकारीहरू अनुसार, घटनास्थलबाट संकलित प्रमाण तथा पोस्टमार्टम रिपोर्टको आधारमा मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ। हाल सबै सम्भावित पक्षलाई ध्यानमा राखेर अनुसन्धान भइरहेको छ।

अनुराग धनखड सन् १९९४ ब्याचका भारतीय पुलिस सेवा (आईपीएस) अधिकारी थिए। उनलाई मई २०२५ मा त्रिपुराको पुलिस महानिदेशक नियुक्त गरिएको थियो। यसअघि उनले राज्यमा डीजीपी (गुप्तचर) लगायत विभिन्न महत्वपूर्ण पदमा रहेर सेवा प्रदान गरेका थिए।

घटनापछि राज्य सरकार तथा पुलिस विभागका वरिष्ठ अधिकारीहरू अस्पताल पुगे। डीजीपी धनखड़को निधनको खबरले प्रशासनिक तथा पुलिस वृत्तमा शोकको लहर फैलिएको छ। पुलिसले पोस्टमार्टम प्रतिवेदन र अनुसन्धान पूरा भएपछि मात्र विस्तृत जानकारी सार्वजनिक गरिने जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande