
मुर्शिदाबाद, 18 अगस्त (हि. स.)। मुर्शिदाबादको रघुनाथगञ्जमा पुलिसले कारबाही गर्दै प्रचुर मात्रामा मादक पदार्थसितै तीन जना युवकहरूलाई पक्राउ गरेको छ। आरोपीहरू कब्जाबाट लगभग 3 किलो 481 ग्राम हेरोइन जफत गरिएको छ जसको अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य लगभग डेढ़ करोड़ रुपियाँ रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार, गए सोमवार राति तीन जना बाइक सवार युवकहरू लालगोला क्षेत्रबाट मादक पदार्थ लिएर सुतीतर्फ गइरहेका थिए। सूचना पाउनसाथ रघुनाथगञ्ज थानाको पुलिसले 12 नम्बर राष्ट्रिय राजमार्गमा निगरानी बढ़ायो। घोड़शाला मोड़को छेउमा संदिग्ध बाइकलाई देख्नसाथ पुलिसको टीमले त्यसलाई पछ्याउन शुरू गऱ्यो अनि राष्ट्रिय राजमार्गमा बाइकलाई रोकेर जाँच गऱ्यो। जाँचमा युवकहरूसित रहेको एउटा सीमेन्टको बोराभित्र हेरोइनको प्याकेट भेटियो। त्यसपछि पुलिसले तीनै जना युवकहरू सहित मादक पदार्थ अनि तस्करीमा उपयोग गरिएको बाइकलाई पनि जफत गऱ्यो।
प्रारम्भिक जाँचबुझमा थाहा लागे अनुसार उक्त हेरोइनलाई लालगोलादेखि सुती क्षेत्रमा तस्करी गर्ने उद्देश्यले ल्याइँदैथ्यो। यस तस्करीको पछाड़ि कुनै ठूलो गिरोहको हात छ कि छैन, यसको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा